·

वाणिज्य बैंकहरुको मुद्दति निक्षेप ब्याजदर फेरि घट्यो

Author

NEPSE TRADING

वाणिज्य बैंकहरुको मुद्दति निक्षेप ब्याजदर फेरि घट्यो

भदौ महिनाको तुलनामा असोज महिनामा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम औसत ब्याजदर झनै घटाएका छन्। नेपाल बैंकर्स संघले प्रकाशित गरेको नयाँ सूचनाअनुसार, भदौमा ५.५७७ प्रतिशतविन्दु रहेको औसत ब्याजदर असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा पुगेको छ। यसरी ०.११ प्रतिशतविन्दु कम हुँदा बैंकिङ क्षेत्रको मुद्दति निक्षेपमा लगानीकर्ताको प्रतिफल झनै खुम्चिएको छ।

२० वाणिज्य बैंकहरूमध्ये ९ बैंकले ब्याजदर घटाएका छन्। प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् भने सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दुले कम गरेका छन्। त्यस्तै, कुमारी बैंकले ०.२ प्रतिशतविन्दुले घटाएको छ।

तर, सबै बैंकले घटाएका छैनन्। लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने असोज महिनामा ब्याजदर बढाएका छन्। यी दुई बैंकले क्रमशः ०.२५ र ०.०५ प्रतिशतविन्दुले वृद्धि गरेका छन्। बाँकी ९ बैंकले भने भदौ महिनाकै दरलाई निरन्तरता दिएका छन्।

असोज महिनामा सबैभन्दा कम ब्याज दिने बैंक कुमारी बैंक रहेको छ जसले अधिकतममा ५.०१ प्रतिशत मात्र ब्याज दिनेछ। त्यस्तै, अधिकतम ब्याजदर ६ प्रतिशत कायम गर्ने बैंकहरूमा एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंक रहेका छन्।

संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि ०.०८८५ प्रतिशतविन्दुले घटेको छ। यसमा ७ बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले भदौ महिनाकै दरलाई कायम राखेका छन्।

Related News