नेपालमा पर्यटक आगमन बढिरहेको सकारात्मक तथ्यांक सार्वजनिक भइरहँदा पुँजी बजार (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीहरूको वित्तीय अवस्था भने निकै कमजोर देखिएको छ। हालै सार्वजनिक गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार नेप्सेमा सूचीकृत ८ वटा कम्पनीमध्ये ५ वटा खुद नोक्सानीमा गएका छन्। व्यापार खस्किँदा समग्रमा यस समूहको औसत नाफा नै ऋणात्मक बन्न पुगेको छ।
यस्तो प्रतिकूल अवस्थाका बाबजुद सोल्टी होटल र कालिञ्चोक दर्शनले भने आफ्नो नाफा र व्यापार दुवैमा उल्लेख्य सुधार गरेका छन्। गत असार मसान्तसम्मको तथ्यांक हेर्दा सोल्टीले सबैभन्दा बढी ७६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको (६५ करोड ३२ लाख रुपैयाँ) तुलनामा १६.५१ प्रतिशतको वृद्धि हो। व्यापारमा पनि सोल्टी नै अग्रस्थानमा छ, जसले अघिल्लो वर्षको २ अर्ब ७७ करोड ३९ लाखको व्यापारलाई बढाएर गत वर्ष ३ अर्ब १४ करोड ८० लाख रुपैयाँ पुर्याएको छ।
उता, नाफा वृद्धिको दर (प्रतिशत) मा भने कालिञ्चोक दर्शनले छलाङ मारेको छ। अघिल्लो वर्ष २ करोड ८१ लाख कमाएको यस कम्पनीले गत आवमा १०५.१४ प्रतिशतले नाफा बढाउँदै ५ करोड ७६ लाख पुर्याएको छ। यसको कुल व्यवसाय पनि ७ करोड ९३ लाखबाट बढेर ८ करोड ९६ लाख रुपैयाँ पुगेको छ।
यसबाहेक अन्य कम्पनीहरूको अवस्था भने सन्तोषजनक छैन। गत वर्ष भदौमा भएको आन्दोलनको चपेटामा परेको तारागाउँ रिजेन्सीको अवस्था निकै खराब देखिएको छ। आन्दोलनमा क्षति पुगेर होटल सञ्चालनमै आउन नसक्दा अघिल्लो वर्ष ४६ करोड ७५ लाख रुपैयाँ नाफामा रहेको तारागाउँ गत आवमा एकैपटक ७० करोड ५७ लाख रुपैयाँ घाटामा गएको छ। त्यसैगरी, अघिल्लो वर्ष ४३ करोड ७९ लाख नाफा कमाएको ओरियन्टल होटल पनि यसपटक भारी गिरावटको सामना गर्दै ४७ करोड ४४ लाख रुपैयाँ खुद नोक्सानीमा फसेको छ।
चर्चित पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल्सको व्यापार र नाफा दुवै खुम्चिएको छ। अघिल्लो वर्ष १८ करोड ७४ लाख नाफा कमाएको चन्द्रागिरीको नाफा ५६.०१ प्रतिशतले घटेर यसपटक जम्मा ८ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको कुल व्यापार पनि ९० करोड २४ लाखबाट १३.८४ प्रतिशतले घटेर ७७ करोड ७५ लाख रुपैयाँमा झरेको छ।
अन्य नोक्सानीमा रहेका कम्पनीहरूमा होटल फरेस्ट इन, सिटी होटल र बन्दीपुर केबुलकार रहेका छन्। होटल फरेस्ट इनले घाटा बढाएर २४ करोड ४५ लाख पुर्याएको छ (अघिल्लो वर्ष १७ करोड १९ लाख घाटा थियो)। यद्यपि, सिटी होटल र बन्दीपुर केबुलकारले भने आफ्नो अघिल्लो वर्षको घाटालाई सामान्य रूपमा घटाएका छन्। सिटी होटल १७ करोड ३० लाख (अघिल्लो वर्ष १९ करोड ८४ लाख) र बन्दीपुर १३ करोड ६५ लाख रुपैयाँ (अघिल्लो वर्ष १७ करोड २४ लाख) नोक्सानीमा रहेका छन्।
पर्यटक आगमन र होटलहरूको व्यापारबीच तालमेल नदेखिँदा लगानीकर्ताहरूको प्रतिफल भने नराम्ररी प्रभावित भएको छ।





