काठमाडौँ — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार नेपालका फाइनान्स कम्पनीहरू समग्रमा खुद नाफामा फर्कन सफल भएका छन् । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३१ करोड २३ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेका यी कम्पनीहरूले यस वर्षको सोही अवधिमा ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। खुद ब्याज आम्दानीमा देखिएको उत्साहजनक सुधार र केही कम्पनीले कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) घटाउन सकेका कारण समग्र नाफामा सकारात्मक प्रभाव परेको हो ।
कम्पनीहरू खुद नाफामा गए पनि अधिकांशको विगतको सञ्चित नोक्सानी (रिटेन्ड अर्निङ) को खाडल भने निकै गहिरो देखिएको छ । सञ्चालनमा रहेका १४ वटा फाइनान्स कम्पनीको समग्र रिटेन्ड अर्निङ ५ अर्ब ११ करोड ४५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ। जम्मा ४ वटा कम्पनीको मात्रै सञ्चित नाफा धनात्मक रहँदा बाँकी १० वटा कम्पनी सञ्चित नोक्सानीमा गुजारिइरहेका छन्। तथ्यांकअनुसार सबैभन्दा धेरै पोखरा फाइनान्सको १ अर्ब ८६ करोड ९ लाख रुपैयाँ र जानकी फाइनान्सको १ अर्ब १७ करोड ८२ लाख रुपैयाँ रिटेन्ड अर्निङ ऋणात्मक छ। यस्तै, मञ्जुश्री फाइनान्सको भने सबैभन्दा धेरै ३८ करोड ६५ लाख रुपैयाँ सञ्चित नाफा रहेको छ। कम्पनीहरूको समग्र जगेडा कोषमा भने ९ अर्ब १९ करोड २१ लाख रुपैयाँ सञ्चित छ।
नाफा वृद्धिको दौडमा आईसीएफसी फाइनान्स सबैभन्दा अगाडि देखिएको छ । गत वर्ष २ करोड २४ लाख रुपैयाँ मात्र नाफा कमाएको यस कम्पनीले चालु आवको पहिलो त्रैमासमा २१०.७९ प्रतिशतको आकर्षक छलाङ मार्दै ६ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यसैगरी, अघिल्लो वर्ष घाटामा रहेका गोर्खाज र बेस्ट फाइनान्सले सानदार पुनरागमन गरेका छन् । गोर्खाज फाइनान्स ४ करोड २४ लाखको घाटा पूर्ति गर्दै यसपालि ६ करोड ७४ लाख रुपैयाँ नाफामा उक्लिएको छ भने बेस्ट फाइनान्स ५ करोड ४७ लाख घाटाबाट २ करोड १४ लाख रुपैयाँ नाफामा फर्किएको छ। यता, मञ्जुश्री र मल्टिपर्पस फाइनान्सको नाफामा भने क्रमशः ४८.५७ प्रतिशत र ७५.९३ प्रतिशतले गिरावट आएको छ। घाटामा रहेका रिलायन्स, पोखरा, नेपाल र गुहेश्वरी फाइनान्सले आफ्नो घाटा रकमलाई अघिल्लो वर्षको तुलनामा घटाउन भने सफल भएका छन्।
फाइनान्स कम्पनीहरूको नाफामा मुख्य टेवा उनीहरूको मुख्य व्यवसाय अर्थात् खुद ब्याज आम्दानीले दिएको छ । समीक्षा अवधिमा १४ वटै कम्पनीको समग्र खुद ब्याज आम्दानी २३.२१ प्रतिशतले बढेर १ अर्ब १४ करोड ४४ लाख रुपैयाँ पुगेको छ। सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्नेमा मञ्जुश्री फाइनान्स (२३ करोड ३ लाख रुपैयाँ) र आईसीएफसी फाइनान्स (१८ करोड ६३ लाख रुपैयाँ) रहेका छन्। वृद्धिदरलाई हेर्दा जानकी फाइनान्सको खुद ब्याज आम्दानी २५१.०३ प्रतिशतले बढेर ६ करोड ११ लाख रुपैयाँ पुगेको छ।
लगानीकर्ताले विशेष महत्वका साथ हेर्ने प्रतिसेयर आम्दानी (ईपीएस) र नेटवर्थमा पनि कम्पनीहरूबीच ठूलो उतारचढाव छ । गोर्खाज फाइनान्सको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ३१ रुपैयाँ ९ पैसा कायम भएको छ भने गुडविलको २६ रुपैयाँ ७० पैसा र आईसीएफसीको २३ रुपैयाँ ५९ पैसा रहेको छ। समग्र कम्पनीको औसत ईपीएस २ रुपैयाँ ९२ पैसा छ, जसमा ६ वटा कम्पनीको ईपीएस अझै ऋणात्मक नै छ। प्रतिसेयर नेटवर्थतर्फ २१७ रुपैयाँ ३६ पैसासहित गुडविल फाइनान्स शीर्ष स्थानमा छ भने जानकी फाइनान्सको नेटवर्थ ८ रुपैयाँ २२ पैसाले ऋणात्मक स्थितिमा छ।
वित्तीय सुशासन र कर्जा असुलीको अवस्था चित्रण गर्ने निष्क्रिय कर्जा (एनपीएल) अनुपातमा केही कम्पनीको अवस्था निकै चिन्ताजनक देखिएको छ । औसत एनपीएल १२.०९ प्रतिशत रहँदा जानकी फाइनान्सको खराब कर्जा डरलाग्दो गरी ६२.९२ प्रतिशत पुगेको छ। त्यस्तै, पोखरा फाइनान्सको १९.४२ प्रतिशत र नेपाल फाइनान्सको १३.७४ प्रतिशत कर्जा निष्क्रिय छ। सबैभन्दा स्वस्थ कर्जा प्रवाह भने आईसीएफसी फाइनान्सको छ, जसको एनपीएल १.९५ प्रतिशत मात्रै रहेको छ। समग्रमा फाइनान्स कम्पनीहरूको नाफामा सुधार देखिए पनि उच्च खराब कर्जा र ऋणात्मक सञ्चित कोषले बैंकिङ प्रणालीका यी संस्थाहरू अझै चुनौतीमुक्त भइनसकेको स्पष्ट देखाउँछ ।




