काठमाडौं — नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १४ फाइनान्स कम्पनीको नाफामा उल्लेख्य सुधार देखिए पनि अधिकांश कम्पनीको लाभांश वितरण क्षमता कमजोर रहेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म यी कम्पनीले कुल १ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो वर्ष यस्तो नाफा ६९ करोड १ लाख रुपैयाँ थियो।
नाफा बढे पनि अधिकांश कम्पनीको सञ्चित नाफा ऋणात्मक रहेकाले सेयरधनीले तत्काल लाभांश पाउने सम्भावना कमजोर छ। १४ कम्पनीमध्ये पाँच वटाको मात्र लाभांश क्षमता सकारात्मक छ। त्यसमध्ये मञ्जुश्री फाइनान्स ३१.१३ प्रतिशत लाभांश क्षमतासहित सबैभन्दा अगाडि छ भने आइसीएफसी फाइनान्सको क्षमता करिब १२ प्रतिशत छ।
फाइनान्स कम्पनीको नाफा बढ्नुमा खुद ब्याज आम्दानीमा भएको वृद्धि तथा इम्पेयरमेन्ट चार्ज घट्नु मुख्य कारण देखिएको छ। कतिपय कम्पनीले विगतमा गरेको इम्पेयरमेन्टसमेत फिर्ता लेखेका छन्। १४ कम्पनीको कुल खुद ब्याज आम्दानी ३ अर्ब ७० करोडबाट बढेर ३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
यी कम्पनीको कुल चुक्ता पुँजी १४ अर्ब १५ करोड रुपैयाँ र जगेडा कोष ८ अर्ब ९१ करोड रुपैयाँ छ। तर समग्र रिटेन्ड अर्निङ ४ अर्ब ६७ करोड रुपैयाँले ऋणात्मक छ। यसले आम्दानीमा सुधार आए पनि विगतको सञ्चित घाटा अझै ठूलो रहेको देखाउँछ।
नाफाका आधारमा मञ्जुश्री फाइनान्स ३७ करोड ६३ लाख रुपैयाँसहित पहिलो स्थानमा छ। आइसीएफसीले २६ करोड ४२ लाख र पोखरा फाइनान्सले २५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका छन्। पोखरा फाइनान्सको नाफा बढ्नुमा करिब ५० करोड रुपैयाँको इम्पेयरमेन्ट चार्ज रिभर्सको उल्लेख्य योगदान छ।
प्रतिसेयर आम्दानीमा पनि मञ्जुश्री फाइनान्स २७.८५ रुपैयाँसहित अगाडि छ। गोर्खाज फाइनान्सको ईपीएस २५.२८ र आइसीएफसीको २२.३३ रुपैयाँ छ। प्रतिसेयर नेटवर्थमा भने गुडविल फाइनान्स २११.०१ रुपैयाँसहित शीर्ष स्थानमा छ।
समग्रमा १४ फाइनान्स कम्पनीको औसत ईपीएस १०.४३ रुपैयाँ र औसत नेटवर्थ १२९.११ रुपैयाँ छ। औसत निष्क्रिय कर्जा अनुपात ११.६७ प्रतिशत रहनुले फाइनान्स कम्पनीको वित्तीय अवस्थामा अझै दबाब रहेको देखाउँछ। नाफामा सुधार भए पनि उच्च खराब कर्जा, ऋणात्मक सञ्चित नाफा र महँगो स्रोत लागतका कारण अधिकांश कम्पनी तत्काल आकर्षक लाभांश वितरण गर्न सक्ने अवस्थामा देखिँदैनन्।




