काठमाडौं — गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालन भइरहेको गरिमा म्युचुअल फन्डअन्तर्गतको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ ले इकाईको नियमित बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको छ।
गरिमा विकास बैंकको प्रवर्द्धनमा सञ्चालन भइरहेको योजनाले लगानीकर्तालाई सहज, सुरक्षित र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले २०८३ साल साउन २६ गतेदेखि नियमित इकाई कारोबार प्रणाली सुरु गरेको जनाएको छ।
नयाँ प्रणालीमार्फत लगानीकर्ताले एकमुष्ट लगानीका लागि इकाई खरिद आवेदन तथा रकम भुक्तानी गर्न सक्नेछन्। साथै, व्यवस्थित लगानी योजना (SIP) दर्ता, किस्ता भुक्तानी, लाभांश पुनःलगानी योजना (DRIP) लगायतका सुविधा पनि उपलब्ध हुनेछन्।
त्यस्तै, लगानीकर्ताले अनलाइन माध्यमबाट आफ्नो खाता दर्ता, लगइन, प्रोफाइल व्यवस्थापन, इकाई पुनर्खरिद, एसआईपी संशोधन तथा रद्द गर्न सक्ने व्यवस्था गरिएको छ।
गरिमा क्यापिटलले आगामी दिनमा लगानीकर्ताको आवश्यकता अनुसार थप डिजिटल सुविधा विस्तार गर्दै लैजाने जनाएको छ। योजनासम्बन्धी सेवा कमलपोखरीस्थित गरिमा क्यापिटलको कार्यालय तथा गरिमा विकास बैंकका देशभरका शाखाबाट समेत लिन सकिनेछ।
कम्पनीका अनुसार योजनाको अनलाइन सेवा प्रयोग गर्न लगानीकर्ताले गरिमा क्यापिटलको आधिकारिक अनलाइन प्रणालीमार्फत दर्ता गर्न सक्नेछन्।
योजनाका इकाई खरिद तथा बिक्री तोकिएको कटअफ समयअनुसार निर्धारण हुने खुद सम्पत्ति मूल्य (NAV) का आधारमा हुने कम्पनीले जनाएको छ। साथै, म्युचुअल फन्डमा गरिने लगानी बजार जोखिममा आधारित हुने भएकाले लगानी गर्नुअघि योजनाको स्वीकृत विवरणपत्र अध्ययन गर्न लगानीकर्तालाई आग्रह गरिएको छ।




