काठमाडौं — हिमालयन बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२ करोड ९७ लाख रुपैयाँ मात्रै नाफा गरेको बैंकको खुद नाफा यस वर्ष १०४१ प्रतिशतभन्दा बढीले बढेको हो।
नाफामा देखिएको यो सुधारले बैंकको पछिल्लो वित्तीय प्रदर्शन सकारात्मक देखिए पनि आम्दानीको आधारभूत अवस्था भने मिश्रित रहेको छ। बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थापनबापत छुट्याइएको रकम घट्नुले मुख्य भूमिका खेलेको देखिन्छ।
बैंकले अघिल्लो आर्थिक वर्षमा कर्जा नोक्सानी व्यवस्थापनका लागि ३ अर्ब ७५ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो। समीक्षा अवधिमा यस्तो रकम घटेर २ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ। यसले बैंकको नाफामा प्रत्यक्ष सुधार ल्याएको हो।
तर बैंकको मुख्य आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानी भने कमजोर भएको छ। अघिल्लो वर्ष १० अर्ब ४५ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर ८ अर्ब ८१ करोड रुपैयाँमा आएको छ। त्यस्तै, शुल्क तथा कमिसन आम्दानी पनि १ अर्ब १५ करोड रुपैयाँबाट घटेर १ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ।
बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब २६ करोड रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। नाफा वृद्धि भए पनि नियमित आम्दानीको क्षमतामा आएको दबाबले बैंकको दीर्घकालीन सुधारका लागि चुनौती देखाएको छ।
हिमालयन बैंकको अर्को ठूलो चुनौती खराब कर्जा बनेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात (एनपीएल) ७.९६ प्रतिशत पुगेको छ। उच्च एनपीएलका कारण कर्जा असुली, सम्पत्तिको गुणस्तर र भविष्यको नाफा क्षमतामा दबाब सिर्जना भएको देखिन्छ।
बैंकको वितरणयोग्य नाफा भने ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको छ। कर्जा नोक्सानी प्रावधान, नियामकीय रिजर्भ तथा उठ्न बाँकी ब्याजका कारण तत्काल लाभांश वितरण गर्ने क्षमतामा दबाब परेको बैंकले जनाएको छ।
बैंकको निक्षेप संकलन भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ३ खर्ब ९ अर्ब रुपैयाँ रहेको निक्षेप समीक्षा अवधिमा बढेर ३ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ। तर कर्जा लगानी भने घटेको छ। अघिल्लो वर्ष २ खर्ब ३० अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह घटेर २ खर्ब २७ अर्ब रुपैयाँमा सीमित भएको छ।
निक्षेप बढ्दै जाँदा कर्जा विस्तार घट्नुले बैंकमा उपलब्ध स्रोतको प्रभावकारी परिचालन चुनौतीपूर्ण बनेको संकेत गर्छ। बैंकिङ क्षेत्रमा अधिक तरलता र कमजोर कर्जा मागको अवस्थाले पनि कर्जा विस्तार प्रभावित भएको देखिन्छ।
बैंकको पुँजी तथा वित्तीय आधार भने तुलनात्मक रूपमा बलियो देखिएको छ। बैंकको रिजर्भ कोष २६ अर्ब ८० करोड रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ५६ पैसा र प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ४८ पैसा कायम भएको छ।
यद्यपि रिटेन्ड अर्निङ ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको छ। बैंकका अनुसार उठ्न बाँकी ब्याज, गैरबैंकिङ सम्पत्ति र नियामकीय व्यवस्थाका कारण वितरणयोग्य नाफामा दबाब परेको हो।
बैंकले आगामी दिनमा निष्क्रिय कर्जा घटाउने, कर्जा असुलीलाई तीव्र बनाउने र सम्पत्तिको गुणस्तर सुधार गर्ने रणनीति अघि सारेको छ। साथै ग्राहक सेवा विस्तार, नयाँ बैंकिङ उत्पादन विकास र प्रविधिको प्रयोग बढाउने योजना बैंकले सार्वजनिक गरेको छ।
बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, घट्दो ब्याजदर, नीतिगत परिवर्तन, आर्थिक अनिश्चितता र प्रविधिजन्य जोखिमलाई समेत बैंकले आगामी चुनौतीका रूपमा पहिचान गरेको छ।
समग्रमा हिमालयन बैंकको पछिल्लो वित्तीय विवरणले नाफामा ठूलो सुधार देखाए पनि त्यो मुख्य रूपमा प्रावधान घटेका कारण आएको देखिन्छ। दिगो सुधारका लागि बैंकले खराब कर्जा नियन्त्रण, कर्जा विस्तारको गुणस्तर र वितरणयोग्य नाफा सुधारमा केन्द्रित हुनुपर्ने देखिन्छ।




