काठमाडौं — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले विद्युत् खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिएका करिब १६ हजार मेगावाट क्षमताका आयोजनाको प्रक्रिया तत्काल अघि बढाउन नेपाल विद्युत् प्राधिकरणसँग माग गरेको छ।
लामो समयदेखि पीपीए रोकिँदा निजी क्षेत्रका जलविद्युत् आयोजनाको अध्ययन, वित्तीय व्यवस्थापन र निर्माण प्रभावित भएको भन्दै इप्पानले सबै योग्य आयोजनालाई समेटेर पीपीए प्रक्रिया खुला गर्न आग्रह गरेको हो।
प्राधिकरण र इप्पानबीच भएको छलफलमा प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको पीपीए प्रक्रिया अघि बढिसकेको जानकारी दिए। उनले आयोजनाको अवस्था हेरेर व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थपसम्बन्धी काम पनि अघि बढाइएको बताए।
इप्पान अध्यक्ष मोहनकुमार डाँगीले पीपीए सीमा कायम राख्दा निजी क्षेत्रका ठूला आयोजना अन्योलमा परेको भन्दै १६ हजार मेगावाटको सीमा नै खुला गर्नुपर्ने बताए। पीपीए नै आयोजनाको वित्तीय व्यवस्थापन र लगानी जुटाउने मुख्य आधार भएकाले लामो समय रोकिँदा लगानी प्रभावित भएको उनको भनाइ छ।
इप्पानले प्राधिकरणले हालै ल्याएको विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारणसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न पनि माग गरेको छ। निजी क्षेत्रसँग पर्याप्त छलफल गरेर मात्रै नयाँ व्यवस्था लागू गर्नुपर्ने उसको भनाइ छ।
त्यस्तै, प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण आयोजना सम्पन्न भएर पनि विद्युत् उत्पादन गर्न नसक्ने अवस्था अन्त्य गर्नुपर्ने इप्पानले जनाएको छ। प्रसारण पूर्वाधार तयार नहुँदा प्रवर्द्धकले व्यहोरेको आर्थिक क्षतिको उचित क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरिएको छ।
निजी ऊर्जा उत्पादकहरूले पीपीए दर पुनरावलोकन, ग्रिड कनेक्सन प्रक्रिया सरल बनाउने र बैंकबाट लगानी जुटाउन सहज हुने ‘बैंकएबल’ पीपीए प्रणाली लागू गर्नुपर्ने माग गरेका छन्।
प्राधिकरणले भने निजी क्षेत्रसँग सहकार्य गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ। उत्पादन क्षमता बढ्दै गएको अवस्थामा विद्युत् व्यापार, प्रसारण पूर्वाधार र बजार विस्तारलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।
ऊर्जा क्षेत्रमा निजी लगानी बढिरहेको अवस्थामा पीपीए, प्रसारण र वित्तीय व्यवस्थापनसम्बन्धी अवरोध समाधान गर्न सके थप जलविद्युत् आयोजना निर्माणलाई गति दिन सकिने अपेक्षा गरिएको छ।




