काठमाडौं — नेपालको अटोमोबाइल बजारलाई लक्षित गर्दै दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। दशैंको पूर्वसन्ध्यामा आयोजना गरिएको एक्स्पोमा ५५ भन्दा बढी अटोमोबाइल ब्रान्डका सवारीसाधन तथा प्रविधि प्रदर्शनीमा राखिएका छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अनुसार यसपटक एक्स्पोमा करिब ४० नयाँ मोडल सार्वजनिक तथा लन्च हुँदैछन्। गत वर्षको पहिलो संस्करणमा ४२ ब्रान्ड सहभागी भएकोमा यस वर्ष सहभागी ब्रान्डको संख्या उल्लेख्य रूपमा बढेको छ।
एक्स्पोले सुस्त देखिएको अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउने अपेक्षा व्यवसायीले गरेका छन्। दशैंमा नयाँ सवारीसाधन खरिद गर्ने परम्परा भएकाले ग्राहकलाई एउटै स्थानमा विभिन्न ब्रान्ड र मोडल तुलना गर्ने अवसर मिल्ने आयोजकको भनाइ छ।
यसपटकको एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी) मुख्य आकर्षण बनेका छन्। विभिन्न कम्पनीका विद्युतीय कार, मोटरसाइकल, स्कुटर तथा व्यापारिक सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। तर हाइब्रिड सवारीसाधनको सहभागिता भने अपेक्षाकृत कम रहेको व्यवसायीले बताएका छन्।
नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले सरकारले ईभीलाई प्राथमिकता दिए पनि हाइब्रिड सवारीसाधनका लागि आवश्यक नीतिगत सुविधा नहुँदा यसको बजार विस्तार हुन नसकेको बताइन्।
चीनबाट आयात हुने केही सवारीसाधन तातोपानी नाका अवरुद्ध हुँदा प्रभावित भए पनि त्यसले समग्र एक्स्पोमा ठूलो असर नपर्ने आयोजकले जनाएको छ। अन्य स्रोतबाट आयात भएका पर्याप्त सवारीसाधन प्रदर्शनीमा राखिएको बताइएको छ।
एक्स्पोमा सवारीसाधनसँगै ब्याट्री, चार्जिङ स्टेसन, अटो पार्ट्स, एक्सेसरिज तथा मोबिलिटीसम्बन्धी नयाँ प्रविधिहरू पनि प्रदर्शन गरिएका छन्। बैंक तथा बीमा कम्पनीको सहभागिताले ग्राहकलाई सवारी कर्जा र बीमासम्बन्धी जानकारी लिन सहज हुने अपेक्षा गरिएको छ।
आगन्तुकको सुविधाका लागि पार्किङ व्यवस्थापन सुधार गरिएको आयोजकले जनाएको छ। भृकुटीमण्डप परिसरसँगै नेपाल पुलिस क्लबको भूमिगत पार्किङसमेत प्रयोगमा ल्याइएको छ।
डिजिटल टिकट खरिद गर्ने आगन्तुकलाई ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ। एक्स्पो बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
बढ्दो ब्रान्ड सहभागिता र नयाँ मोडलको आगमनले नेपालको अटोमोबाइल बजारमा प्रतिस्पर्धा बढाउने तथा उपभोक्तालाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।





