नेप्से लगातार ओरालो : ५४.६२ अंक घट्यो, लगानीकर्ताको तनाव चुलिँदै
Author
Dipesh Ghimire

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन आइतबार पनि गिरावटको शृङ्खला कायमै रह्यो। पछिल्लो पाँच कारोबार दिनदेखि लगातार ओरालो लागिरहेको नेप्से परिसूचक ५४.६२ अङ्कले घटेर २६१४.६८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ८.३७ अङ्क, फ्लोट इण्डेक्स ३.७० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८६ अङ्कले तल झरेका छन्। यो अवस्थाले लगानीकर्ताहरूमा तनाव र निराशा बढाएको छ।
आइतबार ३१७ स्टकको ७२,२६५ पटकको कारोबारमा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँबराबरको १ करोड २३ लाख ७१ हजार कित्ता शेयर किनबेच भयो। गत बिहीबारको ४ अर्ब ५० करोडको तुलनामा कारोबार रकम बढे पनि मूल्य बढेका स्टकको वृद्धिदर ४ प्रतिशतभन्दा कम छ। मिथिला लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो, जसको मूल्य १७८.२० रुपैयाँ घटेर १६०३.८० रुपैयाँमा बन्द भएको छ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यसको ४२ करोड ६ लाख रुपैयाँको शेयर किनबेच भयो। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३६ करोड र नेपाल पुनर्बीमा कम्पनीको ३५ करोडको कारोबार भयो। यी कम्पनीहरूको कारोबारले ठूला लगानीकर्ताको सक्रियता देखाउँछ।
बजारका १३ वटै उपसमूहको परिसूचक घटे। वित्त उपसमूह २.९९ प्रतिशतले सबैभन्दा बढी प्रभावित भयो। विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूह २ प्रतिशतभन्दा बढीले ओरालो लागे। बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटे।
लगानीकर्ताहरूले बजारको यो अवस्थालाई राजनीतिक अस्थिरताको हल्लासँग जोडेर हेरेका छन्। प्यानिक सेलिङको लहर बढ्दै जाँदा सेयर मूल्य थप तल झरेको छ। साना लगानीकर्ताले सस्तोमा कित्ता गुमाउने जोखिम बढेको छ। विश्लेषकहरूले ठूला लगानीकर्ताले सस्तोमा सेयर सङ्कलनको रणनीति अपनाएको हुन सक्ने आशङ्का गरेका छन्।
टेक्निकल विश्लेषण : बजार अझै कमजोर
टेक्निकल विश्लेषणअनुसार बजारका सबै सूचकहरू नकारात्मक छन्। नेप्से २६१६ को समर्थन रेखामा अडिएको छ, तर यो रेखा तोडिए थप २५०० विन्दुतिर झर्न सक्ने देखिन्छ। विश्लेषकहरूले अहिले बेच्ने समय नभएको र ‘लोअर हाई’ को प्रतीक्षा गर्नुपर्ने सुझाएका छन्। तर, बजारको यो गिरावटलाई उनीहरूले अझै बुल बजारको एक चरणकै रूपमा हेरेका छन्।
ब्रोकरको कारोबार : बिक्रीको चाप
ब्रोकरहरूको कारोबार हेर्दा शीर्ष १० मध्ये ४ वटाले तुलनात्मक रूपमा खरिद गरे भने ६ वटाले बिक्री गरे। ब्रोकर नं. ५८ ले १ अर्ब १ करोडको कारोबार गर्यो, जसमा ४४ करोड ६६ लाखको खरिद र ५६ करोड ७४ लाखको बिक्री छ। ब्रोकर नं. ३४ ले २२ करोड ५८ लाखको खरिद र २७ करोड ६५ लाखको बिक्री गर्यो। ब्रोकर नं. २८ ले २३ करोड ५२ लाखको खरिद र २३ करोड ९७ लाखको बिक्री गर्यो। ब्रोकर नं. ४२ ले २३ करोड ८५ लाखको खरिद र २३ करोड ६० लाखको बिक्री गर्यो। ब्रोकर नं. ५७ ले १७ करोडको खरिद र २४.५ करोडको बिक्री गर्यो।
एनआरएनको किनबेचमा ब्रोकर नं. ५८ ले कुल खरिदको ६७% अर्थात् १ लाख ७७ हजार कित्ता खरिद गर्यो र १ लाख ७८ हजार कित्ता बिक्री पनि गर्यो। मिथिला लघुवित्त (एमएलभीएल) मा ब्रोकर नं. ५६ ले ९६ हजार कित्ता खरिद गर्दा १ लाख २ हजार कित्ता बिक्री गर्यो। यस्तै, युनाइटेड मञ्जुश्री हाइड्रोपावर (युएमआरएच) मा ब्रोकर नं. २८ ले ८७ हजार कित्ता खरिद गर्यो भने केभीएलमा ब्रोकर नं. ५८ ले १ लाख १४ हजार कित्ता बिक्री गर्यो।
विश्लेषकहरूले बजार सुधारका लागि राजनीतिक स्थायित्व र नियामक निकायको सक्रियता आवश्यक ठानेका छन्। ठूला लगानीकर्ताको प्रभाव र साना लगानीकर्ताको घाटाले बजारप्रति विश्वास घट्दै गएको छ। बजारको यो गिरावटले लगानीकर्तालाई सतर्क रहन बाध्य बनाएको छ। तत्काल सुधारको सम्भावना न्यून देखिन्छ।