काठमाडौं — नेपाल राष्ट्र बैंकले घरेलु, साना तथा मझौला व्यवसायीलाई व्यावसायिक र व्यक्तिगत कारोबारका लागि अलग–अलग बैंक खाता प्रयोग गर्न सुझाव दिएको छ। वित्तीय अनुशासन र व्यवस्थित लेखांकनले व्यवसायको वास्तविक अवस्था बुझ्न सहज हुने भन्दै केन्द्रीय बैंकले यस्तो अभ्यासमा जोड दिएको हो।
राष्ट्र बैंकले व्यवसायीलाई आम्दानी, खर्च, सम्पत्ति, दायित्व र लगानीको नियमित अभिलेख राख्न तथा नगद प्रवाह र लेखा व्यवस्थापनमा प्रविधिको प्रयोग गर्न आग्रह गरेको छ। व्यवसायको प्रकृतिअनुसार आवश्यक दर्ता, कर, अनुमति र अन्य कानुनी दायित्वबारे जानकारी राख्न पनि सुझाइएको छ।
कर्जा वा अन्य वित्तीय सेवा प्रयोग गर्दा ब्याजदर, सेवा शुल्क, सर्त र सम्भावित जोखिम बुझेर मात्र निर्णय गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ। विभिन्न वित्तीय विकल्पको लागत र लाभ तुलना गरी व्यवसायको आवश्यकता अनुकूल सेवा छनोट गर्न व्यवसायीलाई आग्रह गरिएको छ।
केन्द्रीय बैंकले व्यावसायिक जोखिम घटाउन बीमा र जोखिम विविधीकरणमा पनि ध्यान दिनुपर्ने जनाएको छ। उद्यमी, कर्मचारी र व्यावसायिक सम्पत्तिसँग सम्बन्धित जोखिमसँगै व्यक्तिगत बीमा तथा अवकाश योजनालाई समेत दीर्घकालीन वित्तीय योजनामा समेट्न सुझाव दिइएको छ।
आर्थिक, राजनीतिक, सामाजिक, प्रविधिगत तथा नियामकीय परिवर्तनले व्यवसायको लागत, आम्दानी र बजारमा पार्न सक्ने असरप्रति व्यवसायी सचेत हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। वित्तीय सेवासम्बन्धी समस्या परे आधिकारिक सूचना तथा गुनासो संयन्त्र प्रयोग गर्न पनि आग्रह गरिएको छ।
राष्ट्र बैंकले वित्तीय रूपमा सक्षम उद्यमीलाई रोजगारी सिर्जना, नवप्रवर्तन र आय विस्तारको आधार मान्दै साना तथा मझौला व्यवसायीको वित्तीय ज्ञान र क्षमता निरन्तर बढाउनुपर्नेमा जोड दिएको छ।




