जलविद्युत् कम्पनी सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने म्याद आज (जेठ २१ गते) सकिँदै छ । कम्पनीले सर्वसाधारणतर्फ ४६ लाख ७४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो, जसको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले कुल आकार ४६ करोड ७४ लाख रुपैयाँ बराबर हुन्छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउँछन् । निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले पाएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत 'सी–आस्बा' प्रणाली प्रयोग गरेर आवेदन दिन सकिन्छ ।
२ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीलाई पूँजीको ३० प्रतिशत अर्थात् ८५ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशनको अनुमति थियो । त्यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको २८ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागिको ५ लाख ७० हजार कित्ता सेयर बाँडफाँट भइसकेको छ । त्यस्तै कर्मचारीका लागि १ लाख ७१ हजार र सामूहिक लगानी कोषका लागि २ लाख ८५ हजार कित्ता छुट्याइएको थियो । यी सबै अंश कटाएर बाँकी रहेको सेयर अहिले सर्वसाधारणलाई खुला गरिएको हो ।
निष्काशन प्रयोजनका लागि गरिएको मूल्याङ्कनमा इक्रा नेपालले कम्पनीलाई 'इक्राएनपी–आईआर डबल बी माइनस' रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व भुक्तानी क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत् आयोजना प्रवर्द्धन गरिरहेको छ । आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ अर्थात् प्रतिमेगावाट २२ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको भनाइ छ । आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि अझै २५ वर्ष ३ महिना बाँकी छ भने साधारण हिसाबले लगानी फिर्ता हुन ८.२५ वर्ष र छुट दर (डिस्काउन्ट) विधिअनुसार १४.६९ वर्ष लाग्ने प्रक्षेपण छ ।





