बैंकिङ समूहको बलियो पुनरागमनसँगै मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लागेको छ। साताको दोस्रो कारोबार दिन नेप्से १५ दशमलव ३९ अंकले वृद्धि भई २ हजार ६ सय ३८ दशमलव ९५ विन्दुमा उक्लिएको हो। कारोबार अवधिभर खरिदकर्ताको दबाब कायम रहँदा नेप्से दिनकै उच्च विन्दुमा अडिएर बन्द भएको छ, जसले लगानीकर्ताको मनोबल क्रमशः सुध्रिँदै गएको संकेत गर्छ।
परिसूचकसँगै कारोबार रकम (टर्नओभर) मा पनि उत्साहजनक विस्तार देखिएको छ। यस दिन कुल ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बजारमा कारोबार भएकामध्ये १ सय ६५ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १ सय ११ कम्पनीको मूल्यमा भने गिरावट आएको छ।
मंगलबारको बजार वृद्धिको मुख्य संवाहक वाणिज्य बैंक र विकास बैंक समूह बनेका छन्। कारोबारमा आएका १३ उपसमूहमध्ये लघुवित्त र अन्य समूहबाहेक ११ वटै उपसमूह हरियो बनेका छन्। जसमध्ये बैंकिङ उपसमूह सर्वाधिक १ दशमलव २४ प्रतिशतले बढेको छ भने विकास बैंक समूहमा १ दशमलव ०४ प्रतिशतको सुधार देखिएको छ। लामो समयदेखि सुस्त देखिएको बैंकिङ क्षेत्र सक्रिय हुँदा समग्र सूचकमा सकारात्मक प्रभाव परेको हो।
कम्पनीगत कारोबारतर्फ ग्लोबल आइएमई बैंक विशेष चर्चामा रह्यो। ३२ करोड १७ लाख रुपैयाँको कारोबारसहित सोल्टी होटल शीर्ष स्थानमा रहे पनि दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको ३० करोड ८३ लाख रुपैयाँ बराबरको १० लाख ९३ हजार कित्ता सेयर किनबेच भयो। उच्च कारोबारसँगै बैंकको सेयर मूल्य २ दशमलव ४६ प्रतिशतले बढेर प्रतिकित्ता २ सय ८२ रुपैयाँ ८० पैसा कायम भएको छ।
ग्लोबल आइएमई बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्नुको पछाडि बैंकले भित्र्याउन लागेको उल्लेख्य पुँजीगत लाभ मुख्य कारण मानिएको छ। नियामकीय प्रावधानअनुसार एउटै बैंकले दुई जीवन बीमा कम्पनीमा क्रस–होल्डिङ राख्न नपाउने भएपछि बैंकले रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा रहेको आफ्नो स्वामित्व घटाउन प्रक्रिया अघि बढाएको हो। बैंकले रिलायबल नेपाल लाइफको ४६ लाख ७७ हजार १ सय २० कित्ता संस्थापक सेयर प्रतिकित्ता न्यूनतम २ सय ५० रुपैयाँका दरले लिलामी बिक्रीमा राखेको छ। न्यूनतम मूल्यमै उक्त सेयर बिक्री हुँदा पनि बैंकले १ अर्ब १६ करोड ९२ लाख रुपैयाँ प्राप्त गर्ने र प्रतिकित्ता १ सय ५० रुपैयाँका दरले नाफा आर्जन गर्ने प्रक्षेपण छ। यही वित्तीय लाभले बैंकको लाभांश क्षमता बलियो हुने आकलन गर्दै दोस्रो बजारमा लगानीकर्ता झुम्मिएका हुन्।
अन्य कम्पनीतर्फ एभरेष्ट कलरको सेयर मूल्य सर्वाधिक ५ दशमलव ०५ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रो नेपालको ३ दशमलव ४२ प्रतिशत र सिटी होटलको ३ दशमलव ०९ प्रतिशतले मूल्य वृद्धि भएको छ। लघुवित्त समूहमा देखिएको बिक्री चापका कारण मानुषी लघुवित्तको सेयर मूल्य भने सर्वाधिक ८ प्रतिशतले ओरालो लागेको छ।
प्राविधिक दृष्टिकोणबाट नियाल्दा मंगलबारको दैनिक चार्टले बजारमा खरिदकर्ता पूर्ण रूपमा हाबी भएको देखाउँछ। २ हजार ६ सय २५ दशमलव १३ विन्दुबाट खुलेको बजार २ हजार ६ सय २३ दशमलव ५० को न्यून विन्दुमा झरेर पुनः माथि उक्लिँदै बिना माथिल्लो पुच्छर (अपर विक) को बलियो हरियो 'बुलिस मारुबोजु' प्रकृतिको क्यान्डल बनाएको छ।
चार्टका प्राविधिक सूचकहरूले बजार महत्वपूर्ण टेवा (सपोर्ट) क्षेत्रबाट फर्किएको पुष्टि गरेका छन्। विशेषगरी २ हजार ६ सय २० विन्दु आसपास रहेको 'एनडीओजी' (NDOG) तथा फेयर भ्यालु ग्याप (FVG) को सपोर्ट जोनलाई आधार बनाएर बजारले उकालो यात्रा तय गरेको हो।
यसका साथै, पछिल्लो समय बजारलाई तलतिर दबाब दिइरहेको मुख्य अवरोधक ट्रेन्डलाइनलाई समेत मंगलबारको हरियो क्यान्डलले छिचोलेर (ब्रेकआउट दिएर) माथि बन्द भएको छ। बढ्दो भोल्युमसहित प्राप्त यो प्राविधिक ब्रेकआउटले आगामी कारोबार दिनमा नेप्सेले २ हजार ६ सय ६० देखि २ हजार ६ सय ८० विन्दु आसपासको अवरोध क्षेत्र (PWH तथा FVG जोन) परीक्षण गर्न सक्ने बलियो आधार निर्माण गरेको विश्लेषण गरिएको छ।






