काठमाडौं — बहुराष्ट्रिय उपभोक्ता वस्तु उत्पादक कम्पनी डाबर नेपालको कारोबार चालू आर्थिक वर्षमा साँघुरिएको छ। कमजोर उपभोक्ता माग, अर्थतन्त्रको सुस्तता र बजारमा देखिएको अस्थिरताका कारण कम्पनीको आम्दानी र नाफा दुवैमा उल्लेख्य कमी आएको हो।
कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२/०८३ को माघ (मार्च २०२६) सम्ममा डाबर नेपालले १५ अर्ब १६ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५.८ प्रतिशतले घटेको हो। गत वर्ष यही समयमा कम्पनीको आम्दानी १६ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको थियो।
आम्दानी मात्र होइन, नाफामा पनि कम्पनीले उल्लेख्य गिरावट बेहोरेको छ। अघिल्लो वर्ष १ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको डाबर नेपालको नाफा यस वर्ष घटेर १ अर्ब २९ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको चुक्ता पुँजी ८ करोड, जगेडा कोष १४ अर्ब १४ करोड र कुल सम्पत्ति १७ अर्ब ९२ करोड रुपैयाँ रहेको छ भने कुल दायित्व ३ अर्ब ६९ करोड ६० लाख रुपैयाँ छ। भारतीय कम्पनी डाबर इन्डियाको यसमा ९७.५ प्रतिशत सेयर स्वामित्व रहेको छ।
रियल जुस, च्यवनप्राश, डाबर हनी, भाटिका स्याम्पु, आँवला हेयर आयल, हाजमोला लगायतका उत्पादनमार्फत नेपाली बजारमा लामो समयदेखि सक्रिय डाबरका धेरै ब्रान्ड आ-आफ्नो क्षेत्रमा अग्रणी मानिन्छन्। बनेपास्थित मेडिसिनल एन्ड एरोमेटिक प्लान्ट डिभिजनमार्फत कम्पनीले जडीबुटी नर्सरी र खेती कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। चालू वर्षमा कम्पनीले डाइनामाइट इनर्जी ड्रिंक, हाजमोला मिनिज, भाटिका अनियन स्याम्पु, बर्स्ट म्याङ्गो ड्रिंक र हाजमोला जिरा जस्ता नयाँ उत्पादन बजारमा ल्याएको छ, साथै वीरगञ्जस्थित उद्योगबाट ओडोनिल जेल पकेट र ओडोपिक डिशवास बार उत्पादन पनि थालेको छ।
कम्पनीका अनुसार विगत दुई वर्षदेखि नेपालको अर्थतन्त्र सुस्त रहनु, आर्थिक वृद्धिदर कमजोर हुनु, वैदेशिक लगानी घट्नु, सरकारी राजस्व संकलन खुम्चिनु तथा सहकारी र घरजग्गा क्षेत्रमा देखिएको संकटले उपभोगमा प्रत्यक्ष असर पारेको छ। यसमाथि सेप्टेम्बर २०२५ को आन्दोलनका क्रममा बजार बन्द हुनु र केही व्यापारिक केन्द्रमा भएको आगजनीले कम्पनीको बिक्री-वितरण प्रणालीलाई थप प्रभावित बनाएको कम्पनीको भनाइ छ।
यस्तो प्रतिकूल अवस्थाका बीच पनि डाबर नेपालले बिक्री प्रणालीको स्वचालन, नयाँ वितरण च्यानलको विस्तार, डिजिटल प्रविधिको प्रयोग र ब्रान्ड प्रवर्द्धनमा लगानी बढाउँदै बजार विस्तारको प्रयास जारी राखेको जनाएको छ। नयाँ सरकारले औद्योगिक र आर्थिक वृद्धिलाई प्राथमिकता दिएको सन्दर्भमा आगामी दिनमा अर्थतन्त्र सुधार हुने अपेक्षा कम्पनीले राखे पनि यसको प्रभाव छोटो अवधिमै देखिने सम्भावना भने कम रहेको कम्पनीको निष्कर्ष छ।




