नेपालमा डिम्याट खाताको संख्या ८० लाख नाघेको छ। पुँजी बजारमा सर्वसाधारणको पहुँच बढ्दै गए पनि कुल खाताको तुलनामा सक्रिय लगानीकर्ताको संख्या भने निकै कम देखिएको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार डिम्याट खाताको संख्या ८० लाख ९ हजार ६ सयभन्दा बढी पुगेको छ। मेरोसेयर प्रयोगकर्ता ५१ लाख ४८ हजार र टीएमएस खाता करिब ३४ लाख ५० हजार पुगेका छन्।
डिम्याट खाताको संख्या नै वास्तविक लगानीकर्ताको संख्या भने होइन। सीडीएससीका अनुसार ५ लाख ६२ हजारभन्दा बढी व्यक्तिले दुई वा सोभन्दा बढी डिम्याट खाता सञ्चालन गरिरहेका छन्।
हालको व्यवस्थाअनुसार एक व्यक्तिले बढीमा दुईवटा डिम्याट खाता राख्न पाउँछ। तर एकीकृत पहिचान तथा निगरानी प्रणाली प्रभावकारी नहुँदा केही व्यक्तिका नाममा तोकिएको सीमाभन्दा बढी खाता रहेको देखिएको छ।
नेपालमा पछिल्ला आठ वर्षमा डिम्याट खाताको संख्या तीव्र रूपमा बढेको हो। २०७५ सालमा करिब १२ लाख ९६ हजार रहेको खाता संख्या अहिले ८० लाख नाघेको छ। यो अवधिमा डिम्याट खाता छ गुणाभन्दा बढीले बढेको देखिन्छ।
विशेषगरी कोरोना महामारीपछि अनलाइन आईपीओ आवेदन र डिजिटल कारोबार विस्तारसँगै ठूलो संख्यामा नयाँ लगानीकर्ता बजारमा प्रवेश गरेका थिए। २०७७/७८ र २०७८/७९ मा मात्रै लाखौं नयाँ डिम्याट खाता खुलेका थिए।
तर धेरै खाता आईपीओ आवेदनका लागि मात्रै प्रयोग हुने गरेका छन्। आईपीओमा करिब २० लाख हाराहारी आवेदन पर्ने गरे पनि दोस्रो बजारमा नियमित कारोबार गर्ने लगानीकर्ता त्यसको तुलनामा निकै कम छन्।
टीएमएस खाता कुल डिम्याट खाताको आधाभन्दा कम हुनुले पनि दोस्रो बजारमा सक्रिय सहभागिता सीमित रहेको संकेत गर्छ।
त्यसैगरी नवीकरण शुल्क नबुझाइएका, लामो समयदेखि प्रयोग नभएका तथा खाताधनीको मृत्यु भइसकेपछि पनि बन्द नगरिएका खाताका कारण निष्क्रिय डिम्याट खाताको संख्या पनि बढ्दै गएको छ।
बजार जानकारहरूका अनुसार डिम्याट खाताको वृद्धि पुँजी बजार विस्तारका लागि सकारात्मक भए पनि खाता संख्या मात्रै बजार विकासको पर्याप्त सूचक होइन। सक्रिय लगानीकर्ता, दोस्रो बजार सहभागिता र वित्तीय ज्ञान बढाउनु अबको मुख्य चुनौती देखिएको छ।





