काठमाडौं, असार ५ गते ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रिक्त रहेको बोर्डको नेतृत्व सम्हाल्ने गरी कैलालीका भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघिका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्डको नेतृत्व खाली रहेको थियो। श्रेष्ठ २०८१ मंसिर १० गते ४ वर्षका लागि नियुक्त भएकाले नवनियुक्त अध्यक्ष भट्टले उनको बाँकी कार्यकाल सम्हाल्नेछन्। यसअनुसार भट्ट २०८५ मंसिर ९ गतेसम्म अर्थात् करिब साढे दुई वर्ष बोर्डको अध्यक्षका रूपमा बहाल रहनेछन्। यसअघि पनि अध्यक्ष छनोटको अन्तिम चरणसम्म पुगेका भट्ट तेस्रो प्रयासमा सेबोनको नेतृत्वमा पुग्न सफल भएका हुन्।
सरकारले अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। तर, डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएपछि डा. संजय आचार्यलाई सिफारिस समितिको अध्यक्ष चयन गरिएको थियो। समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्यका रूपमा रहेका थिए। सिफारिस समितिले उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सिफारिस गरेको नामका आधारमा मन्त्रिपरिषद्ले डा. भट्टलाई नियुक्त गरेको हो।
त्रिभुवन विश्वविद्यालयबाट ‘स्टक मार्केट इफिसिएन्सी’ (धितोपत्र बजार प्रभावकारिता) विषयमा विद्यावारिधि (पीएचडी) गरेका डा. भट्टसँग नेपाल राष्ट्र बैंकमा वित्तीय नीति, अनुसन्धान र सुपरिवेक्षण क्षेत्रमा लामो समय काम गरेको उच्च अनुभव छ। उनी वित्तीय क्षेत्रमा सुशासन र नियामकीय कडाइका पक्षधरका रूपमा परिचित छन्।
लामो समयदेखि नेतृत्वविहीन रहेको सेबोनमा नयाँ अध्यक्ष आएसँगै रोकिइरहेका प्राथमिक निष्कासन (आईपीओ), धितोपत्र बजारसम्बन्धी नीतिगत निर्णय तथा नियामकीय कामकारबाहीले गति लिने अपेक्षा गरिएको छ। नवनियुक्त अध्यक्ष भट्टसामु नेप्सेको संरचनात्मक सुधार, बजार अनुगमन प्रणाली सुदृढीकरण, भित्री कारोबार (इन्साइडर ट्रेडिङ) नियन्त्रण, कमोडिटी बजार तथा नयाँ वित्तीय औजारहरूको विकास, र धितोपत्र बोर्ड तथा राष्ट्र बैंकबीचको नीतिगत समन्वयलाई मजबुत बनाउनुपर्ने मुख्य चुनौतीहरू रहेका छन्।




