असोज ८ गतेदेखि सक्रिय न्यूनचापीय प्रणालीका कारण भइरहेको अविरल वर्षा र बाढीले देशको ऊर्जा क्षेत्रमा अकल्पनीय संकट निम्त्याएको छ। बाढी र पहिरोले राष्ट्रिय प्रसारण लाइनका टावरहरू ढाल्नुका साथै नदीमा जलस्तर अस्वाभाविक रूपमा बढेपछि करिब एक हजार मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ। अचानक यति ठूलो परिमाणमा बिजुली उत्पादन बन्द हुँदा नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् आपूर्ति सन्तुलन मिलाउन हम्मेहम्मे परेको छ, जसका कारण बाध्यकारी रूपमा औद्योगिक क्षेत्रको विद्युत् कटौती गर्नुपरेको छ।
एक हजार मेगावाटमध्ये सबैभन्दा ठूलो प्रभाव कालीगण्डकी करिडोर प्रसारण लाइन अवरुद्ध हुँदा परेको छ। प्राधिकरणको तथ्यांकअनुसार उक्त प्रसारण लाइनमा आएको भौतिक क्षतिका कारण मात्रै १३ वटा जलविद्युत् केन्द्रको करिब ३७० मेगावाट विद्युत् प्रवाह रोकिएको छ। म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको २२० केभी लाइनअन्तर्गत पर्ने टावर नम्बर २१ र २२ मा बाढीले गम्भीर क्षति पुर्याएको छ। यसका साथै कुश्मा–नयाँबुटवल खण्डमा पनि प्राविधिक समस्या देखिएको छ। प्रसारण लाइन नै चुँडिएपछि ती उत्पादन केन्द्रबाट निस्किएको बिजुली राष्ट्रिय ग्रिडमा जोड्ने ढोका बन्द भएको हो।
अर्कोतर्फ, प्रसारण लाइन सुरक्षित भए पनि नदीमा पानीको बहाव उच्च हुँदा सम्भावित दुर्घटना टार्न विभिन्न जिल्लाका थप १४ वटा आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिएको छ। म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँका जलविद्युत् केन्द्रहरू बन्द गरिँदा प्रणालीले थप ६३० मेगावाट विद्युत् गुमाएको छ। सुरक्षाका कारण बन्द गरिएका प्रमुख आयोजनाहरूमा कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अपर दोर्दीका साथै माथिल्लो मर्स्याङ्दी, मध्यमर्स्याङ्दी र मोदी खोलासम्मका आयोजनाहरू रहेका छन्। नदीको बहाव घटेर सुरक्षित अवस्था नआएसम्म यी केन्द्रहरू सञ्चालनमा ल्याउन नसकिने प्राविधिकहरूले बताएका छन्।
प्रसारण लाइनबाहेक निर्माणाधीन र सञ्चालित भौतिक संरचनामा समेत बाढीले प्रत्यक्ष प्रहार गरेको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी (रघुगंगा जलविद्युत् कम्पनी) द्वारा प्रवर्द्धित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् केन्द्रको स्विचयार्डमा कालीगण्डकी नदीले भीषण कटान गरेको छ। यसले आयोजनाको महत्त्वपूर्ण संरचनामा गम्भीर क्षति पुगेको छ। यसबाहेक देशैभरका २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभी क्षमताका वितरण तथा प्रसारण लाइनहरूमा पनि पहिरोले क्षति पुर्याएको प्रारम्भिक विवरण छ।
यसैबीच, देशको एक मात्र जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनामा पानीको सतह खतराको विन्दु नजिक पुगेको छ। आइतबार दिउँसो १ बजेको मापनअनुसार इन्द्रसरोवर जलाशयमा पानीको सतह १५२६.४२ मिटर पुगेको छ। बाँधको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्राधिकरणले जलाशयको पानी घटाउन कुलेखानीलाई २४ सै घण्टा पूर्ण क्षमतामा चलाइरहेको छ। सम्भावित विपद् व्यवस्थापनका लागि सम्पूर्ण सुरक्षा संयन्त्र र प्राविधिक टोलीलाई उच्च सतर्कता (स्ट्यान्डबाइ) मा राखिएको छ।
ऊर्जा प्रणालीमा आएको यो गम्भीर संकट समाधान गर्न प्राधिकरणले मर्मत टोली परिचालन गरिसकेको छ। तर, देशभरका मुख्य राजमार्ग तथा ग्रामीण पहुँचमार्गहरू बाढीपहिरोले छियाछिया बनाएका कारण प्राविधिक टोली र आवश्यक उपकरणहरू घटनास्थलसम्म पुर्याउन निकै सकस भइरहेको छ। बाटो खुल्नेबित्तिकै द्रुत गतिमा मर्मत सम्भार गरी विद्युत् आपूर्ति सहज बनाउने प्राधिकरणको तयारी छ। क्षतिको विस्तृत विवरण संकलन भइसकेपछि मात्रै ऊर्जा क्षेत्रले बेहोरेको समग्र प्राविधिक र आर्थिक नोक्सानीको यकिन चित्र बाहिर आउनेछ।




