काठमाडौं — हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको बीमा दाबी भुक्तानी सुरु गरेको जनाएको छ। कम्पनीले हालसम्म २८७ बीमित दाबीमध्ये २४५ दाबीका लागि रु. २१ करोड ७४ लाख भुक्तानी गरिसकेको छ, जसमा अग्रिम र अन्तिम दुबै प्रकारका भुक्तानीहरू समावेश छन्।
कम्पनीका क्लेम विभाग प्रमुख रोजराज लुइँटेलका अनुसार कम्पनीले नियमक निकायले तोकेको प्रावधानभित्रै द्रुत र सरल दाबी भुक्तानी प्रक्रिया सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीले आगामी मंगलबारदेखि बाँकी दाबी भुक्तानी पुनः सुरु गर्ने र प्रभावित ग्राहकहरूलाई तात्कालिक वित्तीय राहत प्रदान गर्न प्राथमिकता दिने बताएको छ।
त्यस्तै, अझै पनि दाबी प्रक्रिया बाँकी रहेका बीमितहरूले नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजात पूरा गर्न आग्रह गरिएको छ।
कम्पनीले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।





