काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनासम्म नेपालको औसत मुद्रास्फीति नियन्त्रणमा देखिए पनि पछिल्लो महिनामा मूल्यवृद्धिको दबाब बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ।
गत आर्थिक वर्षको यही अवधिमा यस्तो मुद्रास्फीति २.७२ प्रतिशत थियो। एक वर्षको अन्तरालमा उपभोक्ता मूल्यवृद्धिको दर बढेको देखिएको हो।
राष्ट्र बैंकका अनुसार जेठमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत रहेको छ।
खाद्य वस्तुमध्ये फलफूलको मूल्य सबैभन्दा बढी बढेको छ। फलफूलको मूल्य एक वर्षमा १७.४० प्रतिशतले बढेको छ भने घ्यू तथा तेलको मूल्य १५.१० प्रतिशतले उकालो लागेको छ। माछा तथा मासुको मूल्य ५.२६ प्रतिशत र तरकारीको मूल्य ४.१४ प्रतिशतले बढेको छ।
यता गैरखाद्य तथा सेवा क्षेत्रमा विविध वस्तु तथा सेवाको मूल्य १६.६८ प्रतिशतले बढेको छ। यातायात सेवाको मूल्य १५.३१ प्रतिशतले बढ्दा शिक्षा, कपडा तथा जुत्ता–चप्पलको मूल्यमा पनि वृद्धि देखिएको छ।
क्षेत्रगत रूपमा सहरी क्षेत्रमा मूल्यवृद्धि ग्रामीण क्षेत्रभन्दा बढी रहेको छ। जेठमा सहरी क्षेत्रमा मुद्रास्फीति ५.३८ प्रतिशत र ग्रामीण क्षेत्रमा ४.७८ प्रतिशत रहेको छ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.७५ प्रतिशत मुद्रास्फीति देखिएको छ। मधेस र लुम्बिनी प्रदेशमा ५.६२ प्रतिशत, गण्डकीमा ५.०५ प्रतिशत तथा अन्य प्रदेशमा ५ प्रतिशतभन्दा कम रहेको राष्ट्र बैंकको तथ्यांक छ।
भौगोलिक आधारमा तराई क्षेत्रमा मूल्यवृद्धि सबैभन्दा उच्च देखिएको छ। तराईमा मुद्रास्फीति ५.७४ प्रतिशत रहेको छ भने पहाडमा ५.०७ प्रतिशत, काठमाडौं उपत्यकामा ४.९८ प्रतिशत र हिमाली क्षेत्रमा ३.७१ प्रतिशत रहेको छ।
पछिल्लो तथ्यांकले समग्र मुद्रास्फीति अत्यधिक दबाबमा नरहे पनि दैनिक उपभोगसँग जोडिएका वस्तु र सेवाको मूल्यवृद्धिले उपभोक्ताको खर्च बढाइरहेको देखाएको छ। अब आपूर्ति व्यवस्थापन, उत्पादन वृद्धि र बजार अनुगमनमार्फत मूल्य स्थिरता कायम गर्नु चुनौतीका रूपमा देखिएको छ।





