नेपाल राष्ट्र बैंकसम्बन्धी विधेयकमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको नियुक्ति प्रक्रिया, योग्यता र कार्यकाल पुनरावलोकन गर्न सांसदहरूले विभिन्न संशोधन प्रस्ताव दर्ता गरेका छन्।
सांसद गुरु प्रसाद बरालले वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पद छाडेको कम्तीमा दुई वर्षपछि मात्रै गभर्नरका लागि सिफारिस हुन पाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन्। निजी बैंकबाट सोझै केन्द्रीय बैंकको नेतृत्वमा पुग्दा स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै यस्तो ‘कुलिङ पिरियड’ राख्न खोजिएको हो।
डेपुटी गभर्नर छनोटलाई पनि प्रतिस्पर्धी र फराकिलो बनाउने प्रस्ताव आएका छन्। सांसद लिमा अधिकारी (आचार्य)ले राष्ट्र बैंकभित्रका वरिष्ठ अधिकृतसँगै बाहिरका योग्य व्यक्तिलाई समेत सिफारिस प्रक्रियामा समेट्नुपर्ने प्रस्ताव गरेकी छन्।
सांसद खुश्बु ओली र रमेश कुमार मल्लले दुई जना राष्ट्र बैंकका विशिष्ट श्रेणीका अधिकृत र एक जना योग्य बाह्य व्यक्तिसहित नाम सिफारिस गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेका छन्।
सांसद सुशील खड्काले भने डेपुटी गभर्नरको संख्या तीन पुर्याउन प्रस्ताव गरेका छन्। तीमध्ये दुई जना राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट र एक जना ५० वर्ष ननाघेका अर्थशास्त्री वा वित्तीय क्षेत्रका विज्ञमध्येबाट नियुक्त गर्न सकिने उनको प्रस्ताव छ।
बरालले डेपुटी गभर्नरका आकांक्षीले पद रिक्त हुनुभन्दा कम्तीमा एक वर्षअघि नै कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेको हुनुपर्ने व्यवस्था पनि प्रस्ताव गरेका छन्।
यस्तै, सांसद सुशील खड्का र परशुराम तामाङले गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पाँचवर्षे कार्यकाल घटाएर चार वर्ष बनाउन संशोधन दर्ता गरेका छन्।
दर्ता भएका प्रस्तावले केन्द्रीय बैंकको नेतृत्व चयनमा पारदर्शिता, स्वार्थको द्वन्द्व नियन्त्रण र संस्थागत उत्तरदायित्वलाई मुख्य विषय बनाएका छन्। संशोधनहरू संसदको छलफलबाट स्वीकार वा अस्वीकार हुनेछन्।
Lawmakers have registered a series of amendments to the Nepal Rastra Bank-related bill, seeking changes in the appointment process, qualifications and tenure of the central bank’s governor, deputy governors and board members.
Among the proposals, MP Guru Prasad Baral has suggested introducing a two-year cooling-off period for chief executives of commercial banks before they can be recommended for the post of NRB governor. The provision is aimed at reducing potential conflicts of interest when executives move directly from private banks to the leadership of the central bank.
Several lawmakers have also proposed making the selection of deputy governors more competitive. MP Lima Adhikari (Acharya) has suggested that recommendations should include at least one senior NRB official selected on the basis of performance and one qualified candidate from outside the central bank.
MPs Khushbu Oli and Ramesh Kumar Malla have jointly proposed that the recommendation list for deputy governor should include two senior NRB officials and one distinguished external candidate meeting the required qualifications.
MP Sushil Khadka has gone further, proposing that the number of deputy governors be increased to three. Under his proposal, two would be selected from among NRB executive directors, while one could be appointed from outside the bank from among economists or financial-sector experts below the age of 50.
Baral has also proposed that anyone aspiring to become deputy governor must have served as an executive director for at least one year before the position becomes vacant.
Another amendment, jointly proposed by Khadka and MP Parashuram Tamang, seeks to reduce the tenure of the governor, deputy governors and board members from five years to four years.
The amendments broadly focus on strengthening transparency, reducing conflicts of interest and widening competition in the selection of the central bank’s leadership. The proposals will now be subject to parliamentary deliberation before lawmakers decide whether to incorporate them into the bill.