काठमाडौं — स्थापनाको ४२औँ वर्षमा प्रवेश गरेको नबिल बैंक लिमिटेडले आफ्नो कर्जा विस्तारलाई उत्पादनशील क्षेत्रतर्फ केन्द्रित गरेको जनाएको छ। बैंकले परम्परागत बैंकिङभन्दा बाहिर रहेर कृषि, ऊर्जा, साना तथा मझौला उद्यम र पर्यटन क्षेत्रमा लगानी बढाउँदै आएको बताएको छ।
आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म बैंकले कुल ४ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसमध्ये ठूलो हिस्सा मुलुकको वास्तविक अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा रहेको बैंकले जनाएको छ।
बैंकका अनुसार कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ र लघु, घरेलु तथा साना तथा मझौला उद्यममा ४५ अर्ब ९२ करोड रुपैयाँ लगानी गरिएको छ। यस्तै, पर्यटन क्षेत्रतर्फ ११ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ।
यी चार प्रमुख क्षेत्रमा मात्रै बैंकको लगानी १ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। बैंकले यस्ता लगानीले रोजगारी सिर्जना, उत्पादन वृद्धि र ग्रामीण अर्थतन्त्र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
सन् १९८४ मा स्थापना हुँदा सीमित आकारको कर्जा लगानीबाट सुरु भएको नबिल बैंक अहिले ४ खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढी कर्जा पोर्टफोलियोसहित नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक बनेको छ। बैंकले २६४ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।
‘बैंकिङ एण्ड बियोन्ड’ नारासहित अघि बढेको बैंकले आगामी दिनमा पनि जिम्मेवार बैंकिङ, वित्तीय समावेशिता र दिगो विकाससँग जोडिएका क्षेत्रमा लगानी विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।





