नेपाल राष्ट्र बैंकको कुल वित्तीय आकार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म आइपुग्दा ३८ खर्ब ७४ अर्ब ९९ करोड रुपैयाँ नाघेको छ। बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको मासिक अस्थायी वित्तीय विवरणले यस्तो देखाएको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व २६ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ मात्र रहेको थियो। यसरी एकै वर्षमा बैंकको वित्तीय आकार करिब १२ खर्ब रुपैयाँले फराकिलो भएको छ।
वृद्धिको मुख्य आधार विदेशी मुद्रा सम्पत्ति रहेको छ। असार मसान्तसम्म राष्ट्र बैंकको कुल विदेशी मुद्रा सम्पत्ति ३७ खर्ब ३० अर्ब २ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २५ खर्ब ६७ अर्ब ३२ करोड रुपैयाँ थियो।
विदेशी मुद्रा सम्पत्तिअन्तर्गत विदेशी धितोपत्रमा लगानी २ खर्ब ६२ अर्ब ३२ करोड रुपैयाँ नाघेको छ। विदेशी बैंकमा राखिएको म्यादी निक्षेप ६१ अर्ब ५८ करोड रुपैयाँ र नगद तथा विदेशी बैंकमा मौज्दात २५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। सुन प्रमाणपत्रमा पनि २२ अर्ब ४७ करोड रुपैयाँ लगानी रहेको विवरणमा उल्लेख छ।
सुन तथा चाँदीको मौज्दात पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ५५ अर्ब ४१ करोड रुपैयाँ रहेको सुन–चाँदी मौज्दात यस वर्ष ९१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।
स्थानीय मुद्रातर्फ राष्ट्र बैंकको कुल सम्पत्ति १ खर्ब ४४ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। यसमा सरकारी धितोपत्रमा ११ अर्ब ३२ करोड, बन्ड तथा म्यादी निक्षेपमा १३ अर्ब ९४ करोड र अन्य कर्जासम्बन्धी लगानी ११ अर्ब ४१ करोड रुपैयाँ समावेश छ।
दायित्वतर्फ हेर्दा चलनचल्तीमा रहेको नेपाली मुद्रा ८० अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७५ अर्ब ११ करोड रुपैयाँ थियो। बैंक तथा वित्तीय संस्थाको निक्षेप ३९ अर्ब २५ करोड र सरकारी निक्षेप १८ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
राष्ट्र बैंकको जगेडा कोष पनि यस अवधिमा उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ६७ अर्ब १० करोड रुपैयाँ रहेको रिजर्भ यस वर्ष १ खर्ब ८ अर्ब ५७ करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।




