काठमाडौं — नाफा सुरक्षित गर्ने उद्देश्यले भएको बिक्री चापका कारण लगातार चार कारोबार दिनसम्म ६२ अंकभन्दा बढीले ओरालो लागिरहेको नेप्से परिसूचकले साताको अन्तिम दिन भने राहतको सास फेर्यो। बजार तल्लो स्तरमा पुगेपछि अल्पकालीन लगानीकर्ताहरू पुनः सक्रिय भई किनबेचमा उत्रिएसँगै शुक्रबार नेप्से दोहोरो अंकले उकालो लाग्न सफल भयो।
शुक्रबार नेप्से परिसूचक १२.९६ अंकले बढेर २ हजार ६८५.५४ विन्दुमा बन्द भयो। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४८ प्रतिशतको वृद्धि हो। यसअघि बिहीबार नेप्से १६.२९ अंकले घटेको थियो। बुधबार ७.७९ अंक, मंगलबार ४.६४ अंक र सोमबार ३३.२८ अंकले घटेको थियो। यसरी हेर्दा एक साताको अवधिमा मात्रै बजारले ६२ अंकभन्दा बढी गुमाएको थियो।
परिसूचकसँगै कारोबार रकममा पनि उत्साहजनक सुधार देखियो। शुक्रबार ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो। जम्मा ८८ लाख ५१ हजार २१६ कित्ता शेयर ४६ हजार ७५५ पटकको कारोबारबाट हस्तान्तरण भएको छ। अघिल्ला दिनहरूमा कारोबार रकम सुस्त रहेको तुलनामा शुक्रबारको कारोबार उल्लेख्य सुधारको संकेत मानिएको छ।
कारोबारमा सहभागी २७५ कम्पनीमध्ये १८० कम्पनीको शेयर मूल्य बढ्यो भने ८२ कम्पनीको घट्यो। १३ कम्पनीको भाउ भने यथावत् रह्यो। उपसमूहतर्फ हेर्दा १३ मध्ये ११ उपसमूह सकारात्मक क्षेत्रमा रहे। निर्जीवन बीमा र व्यापार उपसमूह मात्र ओरालोमा परे भने बाँकी सबै सकारात्मक देखिए।
मूल्य वृद्धिमा एभरेष्ट कलर लिमिटेड स्पष्ट अग्रस्थानमा रह्यो। कम्पनीको शेयर मूल्य एकै दिन १७० रुपैयाँ ७० पैसाले उफ्रिँदै १४.९९ प्रतिशत वृद्धिसहित १ हजार ३०९ रुपैयाँ ३० पैसा पुग्यो। कम्पनीको यो मूल्य सकारात्मक सर्किटनजिकै पुगेको थियो। त्यसपछि लक्ष्मी भ्यालु फन्ड–२ को इकाई मूल्य ८ प्रतिशतले बढ्यो। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६.७९ प्रतिशत, एनआइबीएल ग्रोथ फन्ड ६.६७ प्रतिशत र युनिभर्सल हाइड्रोपावर कम्पनी ६.४४ प्रतिशतले बढ्दा जलविद्युत् र म्युचुअल फन्ड क्षेत्रमा लगानीकर्ताको चासो बढेको देखियो।
कारोबार रकमका आधारमा शीर्षमा रिडी पावर कम्पनी रह्यो। कम्पनीको १७ करोड २६ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो। दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक १५ करोड ३२ लाख रुपैयाँको कारोबारसहित रह्यो। सेन्ट्रल फाइनान्स १४ करोड ८३ लाख, रिलायन्स स्पिनिङ मिल्स ११ करोड ६० लाख र कर्पोरेट डेभलपमेन्ट बैंक १० करोड ८७ लाख रुपैयाँको कारोबारसहित क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा रहे। मूल्य घट्नेतर्फ बोटलर्स नेपाल (तराई) ५.३३ प्रतिशतको गिरावटसहित सबैभन्दा अगाडि रह्यो।
प्राविधिक विश्लेषण : सुधार देखिए पनि संकेत सशंकित
शुक्रबारको कारोबारमा नेप्सेमा सामान्य सुधार देखिए पनि प्राविधिक सूचकहरूले भने बजारको दिशामाथि अझै प्रश्नचिह्न उठाएका छन्। बजारले बोलिन्जर ब्यान्डको मिडल ब्यान्डको सपोर्टलाई सम्मान गरेको देखिए पनि त्यसभन्दा माथि उक्लन भने सकेको छैन।
इन्ट्राडे कारोबारमा बजारले दुई पटकसम्म २०० दिनको मुभिङ एभरेज (२०० एमए) लाई परीक्षण गर्यो, तर त्यसलाई निर्णायक रूपमा ब्रेक गर्न सफल भएन र तल आएरै बन्द भयो। प्राविधिक विश्लेषक अजित खनालका अनुसार बजारले २०० एमए माथि टिकेर बन्द हुन नसकेसम्म प्राविधिक दृष्टिकोणले बजारलाई सकारात्मक रूपमा हेर्न मिल्दैन। यो स्तर ब्रेक भएर माथि टिक्न सके मात्र तेजीको सम्भावना बलियो हुने उनको भनाइ छ।
एडीएक्स सूचक डाउनट्रेन्डमै रहेको छ। लगातार पाँच क्यान्डलसम्म हाइअर हाई बनाउन नसकेको अवस्थामा एडीएक्स तल रहनुले बजारमा अहिले स्पष्ट गतिको अभाव रहेको संकेत गर्छ। यसले बजारको ओरालो चाप अझै कायमै रहेको देखाउँछ।
कारोबारको चाल हेर्दा बजार केही गेपडाउनसहित खुल्यो। बिहान ११ बजेर ३७ मिनेटमा दिनको न्यून विन्दु छोएको बजारले त्यसपछि क्रमशः माथि उक्लँदै दिउँसो २ बजेर ५ मिनेटमा दिनकै उच्च विन्दुमा पुग्यो। त्यसपछि थोरै करेक्सनसहित बजार बन्द भयो। आजको कारोबारमा बैंक क्षेत्रले बजारलाई प्रमुख रूपमा ड्राइभ गरेको देखिन्छ। तथापि केही बैंकहरूको प्रमोटर शेयरको ठूलो कारोबार देखिएकाले समग्र तस्बिरलाई शतप्रतिशत सकारात्मक भन्न नमिल्ने विश्लेषकहरू बताउँछन्।
कारोबारको अन्तिम चरणमा एनआरआईसी शेयरको ठूलो कारोबारले बजारमा थप उतारचढाव ल्यायो र दिनको अन्त्यतिर बजार केही भोलाटाइल बनेको थियो।
शीर्ष १० ब्रोकरको कारोबार विश्लेषण गर्दा ६ वटाले बेचेको भन्दा बढी किनेको देखिन्छ, जुन सकारात्मक संकेत हो। तथापि २०० एमए तोड्न नसकेको र एडीएक्स कमजोर रहेको अवस्थामा बजारको दिगो तेजीका लागि थप पुष्टि आवश्यक रहेको प्राविधिक विश्लेषकहरू बताउँछन्। आगामी कारोबार दिनमा बजारले २०० एमए माथि टिक्न सक्छ कि सक्दैन, त्यसैले बजारको वास्तविक दिशा निर्धारण गर्नेछ।
०००




