बिहीबार नेपालको सेयर बजार पुनः दबाबमा पर्यो। अघिल्लो दिन बुधबार केही सुधार देखिएको बजारमा यस दिन नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा बन्द भयो। बजार केही ग्यापडाउनसहित खुलेको थियो र पहिलो २० मिनेटमै दिनको उच्च विन्दु छोएको थियो, तर त्यसपछि दिनभर बजार नकारात्मक क्षेत्रमा नै रह्यो। दिउँसो १२:५१ मा दिनको न्यून विन्दु छोएपछि केही सुधारको प्रयास भयो, तर १:४५ बजेपछि बजार पुनः आक्रामक रूपमा झर्यो। बजारको अन्तिम समयमा थप गिरावट आउने पुरानो समस्याले आज पनि बजारलाई पीडा दियो।
कारोबार रकम पनि घट्दै ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँमा सीमित भयो, जुन अघिल्लो दिनको ३ अर्ब ६३ करोड रुपैयाँभन्दा कम हो। यस दिन ३४७ वटा स्टकका ७७ लाख ४३ हजार कित्ता सेयर ४१ हजार १०४ पटक कारोबार भए। १० वटा ठूला ब्रोकरको कारोबार हेर्दा ५–५ किनबेच बराबर देखिएको छ जसले बजारमा कुनै स्पष्ट दिशा नरहेको संकेत गर्छ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ५ उपसमूह बढे भने ८ उपसमूह घटे। बैंकिङ, वित्त, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूह सामान्य सकारात्मक देखिए पनि अन्य समूह सबैभन्दा बढी ०.८६ प्रतिशतले गिर्यो। समग्र बजार कमजोर रहे पनि एपोलो हाइड्रोपावर र सोपान फर्मास्यूटिकल्स सकारात्मक सर्किट लेभलमा कारोबार भए। आत्मनिर्भर लघुवित्तको सेयर साढे १२ प्रतिशतले बढ्दा बुंगल हाइड्रोपावर करिब साढे ८ प्रतिशतले उकालो लाग्यो। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी ३१ करोड ९८ लाखभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रह्यो भने युनाइटेड मोदी हाइड्रोपावर र सिइडिबी होल्डिङ्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
टेक्निकल दृष्टिकोणले हेर्दा बजार हाल एउटा माइनर सपोर्ट जोनमा रहेको छ र यस जोनमा आज स्पिनिङ टप क्यान्डल बनेको छ जुन केही सकारात्मक संकेत हो। तथापि सबैभन्दा चिन्ताजनक पक्ष भनेको क्यान्डलहरूले लगातार हायर हाई (HH) बनाउन नसकिरहेको अवस्था हो। आज बनेको क्यान्डल १२औं क्यान्डल हो जसले HH बनाउन सकेको छैन। यसले बजार संरचनात्मक रूपमा कमजोर रहेको स्पष्ट देखाउँछ। ADX सूचक बढ्न थालेको छ तर घट्दो बजारमा बढ्दो ADX नकारात्मक संकेत हो। RSI सूचक ३६ को स्तरमा झरेको छ जुन ओभरसोल्ड क्षेत्रको नजिक पुग्दैछ। २०० दिनको मुभिङ एभरेज २७१४ विन्दुमा रहेको छ र बजार यसभन्दा तल कारोबार भइरहेको छ।
बजारमा पर्याप्त लगानीयोग्य रकम, घट्दो बैंक ब्याजदर र ३७ खर्ब रुपैयाँ नाघेको विदेशी विनिमय सञ्चितिजस्ता सकारात्मक आर्थिक सूचकहरू विद्यमान छन्। तर यी सूचकहरूले पुँजीबजारमा अपेक्षित उत्साह भर्न सकेका छैनन्। सम्पत्ति छानबिनका विषय, सेबोनमा करिब दुई महिनादेखि कायम नेतृत्व रिक्तता, नीतिगत अस्पष्टता र स्वार्थ समूहको प्रभावबारे बढ्दो आशंकाले बजारमा दबाब कायम रहेको विश्लेषकहरू बताउँछन्। सेबोन नेतृत्व रिक्तताका कारण १०० भन्दा बढी कम्पनीका करिब ६९ अर्ब रुपैयाँभन्दा बढीका आईपीओ आवेदन स्वीकृतिको प्रतीक्षामा थन्किएका छन्।
पछिल्ला तीन महिनामा नेप्सेको बजार पुँजीकरण करिब ४ खर्ब रुपैयाँले घटेको अनुमान छ। बजार विश्लेषकहरूका अनुसार अबको मुख्य पर्खाइ HH क्यान्डल बन्ने संकेतको रहनेछ। जबसम्म बजारले HH बनाउँदैन तबसम्म सतर्कता अपनाउनु नै बुद्धिमानी हुने र तत्काल उल्लेखनीय सुधारका लागि सरकारको स्पष्ट नीति र सेबोनमा स्थायी नेतृत्व नियुक्ति अपरिहार्य रहेको विज्ञहरू बताउँछन्।




