काठमाडौं — सरकारले आगामी एक दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य हासिल गर्न नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्न थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्सँगै सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जाको अनुपात निर्धारण गर्ने गरी गृहकार्य अघि बढाएको हो ।
ऊर्जा मन्त्री बिराभक्त श्रेष्ठको सचिवालयका अनुसार यो नयाँ ढाँचा तयार भएसँगै लामो समयदेखि अवरुद्ध विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः खुलाउन बाटो खुल्नेछ । प्रस्तावित खाकामा नदी प्रवाही, अर्धजलाशययुक्त, जलाशययुक्त र पम्प स्टोरेजका साथै सौर्य तथा वायु ऊर्जाको स्पष्ट हिस्सा तोकिनेछ ।
हाल मुलुकको कुल जडित क्षमता ४ हजार २ सय मेगावाट छ, जसमा नदी प्रवाही आयोजनाको वर्चस्व छ । वर्षामा बिजुली खेर जाने र हिउँदमा भारतबाट आयात गर्नुपर्ने मौसमी असन्तुलन हटाउन ऊर्जा स्रोतको विविधीकरण अनिवार्य देखिएको मन्त्रालयको निष्कर्ष छ । यसअघि १५ हजार मेगावाट उत्पादन लक्ष्यका आधारमा ऊर्जा मिश्रण तय गरिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म ४५६ वटा आयोजनासँग करिब ११ हजार ४० मेगावाट बराबरको पीपीए भइसकेको छ । तर, १६ हजार ४ सय २५ मेगावाटभन्दा बढी क्षमताका २८१ आयोजना अझै पीपीएको पर्खाइमा छन् । पीपीए रोकिँदा बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाउन समस्या भइरहेकाले निजी क्षेत्रका आयोजना निर्माणमा जान सकेका छैनन् ।
सन्तुलित ऊर्जा मिश्रणले जलाशययुक्त र पम्प स्टोरेजमार्फत ऊर्जा सञ्चय गरी हिउँदको माग धान्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । यद्यपि, ३० हजार मेगावाटको लक्ष्य भेट्टाउन उत्पादनसँगै आन्तरिक खपत वृद्धि, प्रसारण लाइन विस्तार र भारत तथा बङ्गलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापारलाई प्रभावकारी बनाउनुपर्ने चुनौती भने कायमै छ ।




