काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४४५ चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व राज्यकोषमा दाखिला भएको छ ।
तोकिएका कसुरमध्ये सबैभन्दा धेरै तीव्र गतिमा सवारी हुइँक्याउने चालक परेका छन्, जसको सङ्ख्या १८३ छ । त्यसपछि एकतर्फी सडकमा सवारी चलाउने १६६, नियमविपरीत 'राइड सेयरिङ' गर्ने १६०, सङ्केत बत्ती मिचेर गुड्ने १४१, मापसे (मादक पदार्थ सेवन) गरी सवारी चलाउने १२८ र निषेधित क्षेत्रमा हर्न बजाउने १२३ जना कारबाहीमा तानिएका छन् ।
त्यस्तै 'लेन' अनुशासन पालना नगर्ने ४३ र सडक पेटीमा सवारीसाधन पार्क गर्ने १४ जनामाथि पनि कारबाही भएको छ । बाँकी एक हजार ४८७ जना भने अन्य विभिन्न सवारी नियम उल्लङ्घनका कसुरमा कारबाहीमा परेका हुन् ।





