काठमाडौं। साहस ऊर्जा लिमिटेड (SAHAS) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ।
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको खुद नाफा ८९ करोड ५१ लाख रुपैयाँको तुलनामा ५१.८४ प्रतिशत बढी हो।
विद्युत बिक्री आम्दानीमा वृद्धि
सोलुखुम्बु जिल्लामा अवस्थित ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको कम्पनीले गत आर्थिक वर्ष विद्युत बिक्री गरी २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष यो आम्दानी २ अर्ब ६४ करोड ८२ लाख रुपैयाँ थियो, अर्थात् विद्युत बिक्री आम्दानीमा ७.४२ प्रतिशतको वृद्धि भएको छ।
प्रत्यक्ष कर तथा अमोर्टाइजेसन कट्टा गरेपछिको कुल नाफा (Gross Profit) १ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च घटाएपछिको सञ्चालन नाफा १ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ पुगेको छ।
वित्तीय खर्चमा कमी, नाफा बढ्न सहयोग
कम्पनीको वित्तीय खर्च अर्थात् ब्याज दायित्व अघिल्लो वर्षको ८० करोड २१ लाख रुपैयाँबाट उल्लेख्य रूपमा घटेर ५७ करोड ७५ लाख रुपैयाँमा झरेको छ। यसले नाफा बढाउनमा मुख्य भूमिका निभाएको विश्लेषकहरू बताउँछन्।
पूँजी र जगेडा कोषमा सुधार
कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको ३ अर्ब ७८ करोड रुपैयाँको तुलनामा २१ प्रतिशत बढी हो। त्यस्तै, जगेडा कोष तथा सञ्चित नाफा पनि ३ अर्ब १६ करोड २० लाख रुपैयाँबाट बढेर ३ अर्ब ६८ करोड ३ लाख रुपैयाँ पुगेको छ।
ऋण घट्यो, सम्पत्ति आकार विस्तार
कम्पनीमाथि रहेको मध्यम तथा दीर्घकालीन ऋण ९ अर्ब १७ करोड रुपैयाँबाट घटेर ८ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ। कम्पनीको कुल सम्पत्तिको आकार भने १८ अर्ब ४६ करोड १० लाख रुपैयाँ कायम रहेको छ।
प्रतिसेयर आम्दानी (EPS, वार्षिकीकृत) २३.६८ रुपैयाँबाट बढेर २९.७२ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ भने १८४ रुपैयाँबाट घटेर १८०.५८ रुपैयाँमा झरेको छ। कम्पनीको पी/ई अनुपात २६.८०बाट घटेर २१.४० मा आएको छ।
बुढीगण्डकी आयोजना अगाडि बढाउने तयारी
कम्पनीले आफ्नो सहायक कम्पनी टाइम्स एनर्जी प्राइभेट लिमिटेडमार्फत ३४१ मेगावाट क्षमताको 'बुढीगण्डकी 'क' जलविद्युत आयोजना' निर्माण अगाडि बढाउने तयारी गरिरहेको छ। यसका लागि हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित आवश्यक कार्यहरू अगाडि बढाइएको कम्पनीले जनाएको छ।




