काठमाडौं। लगातार चार कारोबार दिनसम्म ओरालो लागेको नेपाली शेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०८ अंकले बढेर २ हजार ७०५.५३ विन्दुमा पुगेर कारोबार बन्द भएको छ। यद्यपि दिनभर बजार अत्यन्त न्यून उतारचढावमा सीमित रहँदा लगानीकर्तामा अन्योल कायमै रहेको देखिएको छ।
कारोबार सुरु भएलगत्तै नेप्से करिब २ हजार ७१५ विन्दुसम्म पुगेको थियो। त्यसपछि बिक्री दबाब बढ्दै जाँदा बजार क्रमशः ओरालो लाग्यो। अन्तिम समयमा केही खरिद बढेपछि परिसूचक सामान्य अंकले हरियो रहन सफल भए पनि बजार अझै स्पष्ट दिशाविहीन अर्थात् ‘साइडवे’ प्रवृत्तिमै रहेको विश्लेषण गरिएको छ।
बुधबार ३५२ कम्पनीका ८३ लाख ७५ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका कम्पनीमध्ये १२६ कम्पनीको शेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको र १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबार रकमका आधारमा एनआरएन, रिलायन्स स्पिनिङ मिल्स र बुङ्गल हाइड्रो अग्रस्थानमा रहे। मूल्य वृद्धितर्फ सोपान फर्मास्युटिकल्स, एपोलो हाइड्रो र त्रिशूली जलविद्युत्का शेयर उल्लेख्य रूपमा बढेका छन् भने एनएमबी डिबेञ्चर सबैभन्दा बढी घट्ने धितोपत्र बनेको छ।
बजारमा पर्याप्त लगानीयोग्य रकम, बैंक ब्याजदरमा निरन्तर गिरावट तथा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य वृद्धि जस्ता सकारात्मक आर्थिक सूचक देखिए पनि त्यसको प्रभाव पूँजीबजारमा देखिन सकेको छैन। व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.२७ प्रतिशतमा झरेको र विदेशी विनिमय सञ्चिति ३७ खर्ब रुपैयाँ नाघिसक्दा पनि लगानीकर्ताको मनोबल उकासिन सकेको छैन।
विश्लेषकहरूका अनुसार बजेटमार्फत पूँजीबजार सुधारका केही घोषणा भए पनि त्यसले लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न सकेको छैन। सम्पत्ति छानबिनका विषय, नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नेतृत्व रिक्त रहनु, नीतिगत अस्पष्टता तथा स्वार्थ समूहको प्रभावबारे बढ्दो आशंकाले बजारमा दबाब कायम रहेको छ। पछिल्ला तीन महिनामा नेप्सेको बजार पुँजीकरण करिब ४ खर्ब रुपैयाँले घटेको अनुमान गरिएको छ भने कारोबार रकम पनि क्रमशः घट्दै गएको देखिन्छ।
सेबोनमा अध्यक्ष नियुक्ति प्रक्रिया करिब दुई महिनादेखि रोकिँदा आईपीओ स्वीकृति, नियमन तथा सुपरिवेक्षणका काम प्रभावित भएका छन्। हाल १०० भन्दा बढी कम्पनीका करिब ६९ अर्ब रुपैयाँ बराबरका आईपीओ आवेदन स्वीकृतिको प्रतीक्षामा रहेको अवस्था छ।
यसबीच लगानीकर्ताको ध्यान आगामी मौद्रिक नीतितर्फ केन्द्रित भएको छ। असार मसान्त नजिकिँदै जाँदा बजारमा मानसिक दबाब समेत बढेको देखिएको छ भने अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा रहेका छन्।
प्राविधिक विश्लेषण पनि कमजोर
प्राविधिक रूपमा पनि बजार अझै बलियो बन्न सकेको छैन। बजारले माइनर सपोर्ट जोनबाट सामान्य प्रतिक्रिया दिएको भए पनि नयाँ उच्च (Higher High) बनाउन नसक्दा बजारमा कमजोरी कायम रहेको विश्लेषकहरू बताउँछन्।
कारोबारका क्रममा बजारले २०० दिने मूभिङ एभरेज (200MA) परीक्षण गरे पनि त्यसलाई पार गर्न सकेन। लगातार ११ कारोबार दिनसम्म दैनिक चार्टमा नयाँ उच्च क्यान्डल बन्न नसक्नुले बिक्री दबाब अझै कायम रहेको संकेत दिएको छ।
आरएसआई (RSI) ३७ को स्तरमा झरेको छ भने एडीएक्स (ADX) ले बलियो ट्रेन्ड देखाइरहेको छ। विश्लेषकहरूका अनुसार बजारले स्पष्ट रूपमा उच्च क्यान्डल नबनाएसम्म नकारात्मक मनोविज्ञान हट्ने सम्भावना कम देखिन्छ।
कारोबार रकमको प्रवृत्तिले पनि बजार कमजोर रहेको संकेत गरेको छ। हरियो दिनमा कारोबार रकम घट्ने र रातो दिनमा बढ्ने क्रम दोहोरिँदै आएको छ, जसले खरिदकर्ताभन्दा बिक्रीकर्ता बढी सक्रिय रहेको देखाउँछ। बुधबारको कारोबार पनि अघिल्लो दिनको तुलनामा केही कम रह्यो।
दिनको सुरुआतमै बजारले न्यूनतम स्तर छोएपछि मध्याह्नअघि उच्च बिन्दु बनाएको थियो। त्यसपछि थप नयाँ न्यून स्तर नबने पनि कारोबारको अन्तिम आधा घण्टामा ठूलो रकमसहित पुनः बिक्री दबाब देखिएको थियो।
ठूला ब्रोकरहरूको गतिविधिले पनि बजारमा सतर्कता बढाएको छ। शीर्ष १० ब्रोकरमध्ये ६ वटाले खरिदभन्दा बढी बिक्री गरेको तथ्यांकले संस्थागत लगानीकर्ताले पछिल्ला दिनमा नाफा सुरक्षित गर्ने वा जोखिम घटाउने रणनीति अपनाएको संकेत गरेको बजार जानकारहरूको भनाइ छ।
समग्रमा बुधबार सामान्य सुधार देखिए पनि बजारमा नीतिगत स्पष्टता, सेबोनमा स्थायी नेतृत्व र मौद्रिक नीतिबाट सकारात्मक सन्देश नआएसम्म लगानीकर्ताको आत्मविश्वास पूर्ण रूपमा फर्किन कठिन हुने विश्लेषण गरिएको छ।


