धितोपत्र बजारमा नयाँ कम्पनी र सेयर थपिने क्रम निरन्तर बढे पनि लगानीकर्ताको कुल सम्पत्ति (बजार पुँजीकरण) भने खुम्चिँदै गएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सेयरको संख्या र चुक्ता पुँजीमा उल्लेख्य वृद्धि भए पनि दोस्रो बजारमा कम्पनीहरूको सेयर मूल्य घट्दा समग्र बजार पुँजीकरणमा निरन्तर गिरावट आएको हो।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन मसान्त) सम्मको तथ्यांक विश्लेषण गर्दा धितोपत्र बजारको आकार अघिल्लो वर्षको तुलनामा १ खर्ब ८ अर्ब ५२ करोड रुपैयाँले घटेको छ। अघिल्लो वर्षको साउनमा ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको समग्र बजार पुँजीकरण यस वर्षको सोही अवधिमा ४५ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ। बजार पुँजीकरण खुम्चिएसँगै देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँग सेयर बजारको आकारको अनुपात पनि ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ साउनमा जीडीपीको ७५.१० प्रतिशत हिस्सा ओगटेको पुँजीकरण एक वर्षमै खुम्चिएर ६८.९० प्रतिशतमा झरेको छ।
बजारको आकार घट्नुको अर्थ नेप्सेमा नयाँ कम्पनी नआएर वा सेयर जारी नभएर भने होइन। तथ्यांकअनुसार साउन महिनामा मात्रै ६ अर्ब ४५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) र ४ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस सेयर गरी कुल ६ अर्ब ९० करोड रुपैयाँका नयाँ धितोपत्र बजारमा प्रवेश गरेका छन्। योसँगै नेप्सेमा सूचीकृत कुल सेयरको संख्या ९ अर्ब ५९ करोड र तिनको चुक्ता मूल्य ९ खर्ब ४५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। यसले बजारमा सेयरको आपूर्ति बढ्दैमा समग्र बजारको आकार नबढ्ने र त्यसका लागि दोस्रो बजारमा सेयरको बजार मूल्य नै उच्च हुनुपर्ने प्राविधिक यथार्थलाई प्रमाणित गरेको छ।
हाल नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या बढेर ३०५ पुगिसकेको छ। जसमध्ये १३३ वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी छन् भने १११ वटा जलविद्युत्, ३१ वटा उत्पादन तथा प्रशोधन, ९ वटा होटल र ७ वटा लगानी कम्पनी छन्। संख्यात्मक रूपमा जलविद्युत् कम्पनीहरूको उपस्थिति बाक्लो देखिए पनि समग्र बजारको पुँजीकरणमा भने अझै पनि वित्तीय क्षेत्रकै दबदबा छ। कुल बजार पुँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीको मात्रै ५०.९ प्रतिशत हिस्सा छ। त्यसपछि जलविद्युत् क्षेत्रको १८.३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ८.५ प्रतिशत, लगानी कम्पनीको ६.७ प्रतिशत, व्यापारिक समूहको ४ प्रतिशत र होटलको ३.२ प्रतिशत हिस्सा छ।
बजार पुँजीकरणमा आधाभन्दा बढी हिस्सा वित्तीय क्षेत्रले ओगट्ने भएकाले यी कम्पनीहरूको सेयर मूल्यमा आउने सामान्य उतारचढावले पनि समग्र नेप्सेको आकारलाई प्रत्यक्ष प्रभाव पार्छ। पछिल्लो समय बजारमा कारोबारयोग्य धितोपत्रको आपूर्ति लगातार बढिरहेको छ, तर त्यसलाई खपत गर्ने लगानीकर्ताको माग र दोस्रो बजारको मूल्य भने सुस्त छ। सूचीकृत कम्पनीको संख्यालाई मात्र बजार विस्तारको सूचक मान्ने परम्परागत बुझाइलाई यस तथ्यांकले चिरेको छ। बजारको वास्तविक विस्तार र लगानीकर्ताको सम्पत्ति वृद्धि हुन नयाँ कम्पनीको प्रवेशसँगै अर्थतन्त्र चलायमान भई कम्पनीहरूको नाफा बढ्नुपर्ने र सोही आधारमा सेयर मूल्यले उचाइ लिनुपर्ने देखिन्छ।




