भक्तपुर । ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटिज प्रा.लि.को नयाँ शाखा कार्यालय भक्तपुरको कौशलटार चोकमा सञ्चालनमा आएको छ। भक्तपुरका लगानीकर्तालाई लक्षित गर्दै कम्पनीले आफ्नो शाखा विस्तार गरेको हो।
नयाँ शाखाको उद्घाटन त्रिशक्ति सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत गोविन्द दाहालले रिबन काटेर गरेका हुन्। कम्पनीका अनुसार कौशलटार शाखा महिलाहरूले मात्र सञ्चालन गर्ने गरी स्थापना गरिएको छ। यो त्रिशक्ति सेक्युरिटिजको नवौं शाखा हो।
उद्घाटन कार्यक्रममा बोल्दै त्रिशक्ति सेक्युरिटिजका अध्यक्ष टंकप्रसाद गौतमले भक्तपुर क्षेत्रका लगानीकर्ताको सहजतालाई ध्यानमा राखेर शाखा सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार अहिले धेरैजसो धितोपत्र कारोबार डिजिटल माध्यमबाट हुने भए पनि कार्यालयमै उपस्थित भएर सेवा लिन चाहने लगानीकर्तालाई लक्षित गरी शाखा विस्तार गरिएको हो।
अध्यक्ष गौतमले लगानीकर्तालाई छिटो, सहज र प्रभावकारी सेवा दिन कम्पनी प्रतिबद्ध रहेको बताए। उनले भक्तपुर तथा आसपासका क्षेत्रका लगानीकर्ताले अब नजिकैबाट धितोपत्र कारोबारसम्बन्धी सेवा लिन सक्ने विश्वास व्यक्त गरे।
त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत गोविन्द दाहालले सेवाग्राहीको सुविधालाई प्राथमिकतामा राखेर कौशलटारमा शाखा खोलिएको जानकारी दिए। उनले नयाँ शाखामार्फत लगानीकर्तालाई आवश्यक परामर्श, सेवा तथा सहजीकरण उपलब्ध गराइने बताए।
शाखा प्रमुख विनीता थापालीले शाखा सञ्चालन चुनौतीपूर्ण भए पनि महिलाहरूको नेतृत्वमा कार्यालय सञ्चालन गर्न पाउँदा उत्साहित भएको बताइन्। उनले सेवाग्राहीलाई सरल, व्यवस्थित र विश्वासिलो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
त्रिशक्ति सेक्युरिटिज ब्रोकर नम्बर ४८ को केन्द्रीय कार्यालय काठमाडौंको पुतलीसडकस्थित स्टार मलमा रहेको छ। कम्पनीका शाखाहरू पोखरा, बुटवल, महेन्द्रनगर, हेटौंडा, बनेपा, ललितपुर, भक्तपुर र धनगढीमा सञ्चालनमा रहेका छन्।
कम्पनीले शाखा विस्तारसँगै धितोपत्र बजारमा लगानीकर्ताको पहुँच थप सहज हुने विश्वास लिएको छ। विशेषगरी भक्तपुरका लगानीकर्ताले अब काठमाडौं धाउनुपर्ने बाध्यता केही हदसम्म घट्ने अपेक्षा गरिएको छ।





