काठमाडौं — सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र जगदम्बा स्टिलका अध्यक्ष शुलभ अग्रवाललाई प्रहरीको थुनामा राखिएको दुई महिना पुगेको छ। यो अवधिमा शुलभको स्वास्थ्य बिग्रिँदै गएको र उनलाई पटकपटक अस्पताल भर्ना गर्नुपरेको विभागीय सूत्रले जानकारी दिएको छ।
सम्पत्ति शुद्धीकरण विभाग मातहतको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चैत १८ मा ललितपुरबाट भट्टलाई पक्राउ गरेको थियो। त्यसको दुई दिनपछि चैत २० मा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पनि पक्राउ गरिएको थियो। बयान लिएपछि शंकरलाललाई हाजिरी जमानीमा रिहा गरिए पनि उनका छोरा शुलभलाई भने चैत २१ देखि थुनामा नै राखिएको छ।
सम्पत्ति शुद्धीकरण विभागसँग आफ्नै थुनुवा कक्ष नभएकाले भट्ट र शुलभ दुवैलाई प्रहरी हिरासतमा राख्नुपरेको हो। हाल भट्टलाई प्रहरी वृत्त बौद्धमा र शुलभलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ। भट्टलाई यो अवधिमा तीन ठाउँ सारिएको छ — सुरुमा प्रहरी प्रभाग पुल्चोक, त्यसपछि प्रहरी प्रभाग सानेपा र अहिले प्रहरी वृत्त बौद्धमा राखिएको हो।
हिरासतमा विशेष सुविधा दिएको आशंका, प्रधानमन्त्री कार्यालयको छानबिन
थुनामा रहेका भट्ट र शुलभलाई अन्य थुनुवाभन्दा फरक व्यवहार गरी थप सुविधा दिइएको आशंकामा प्रधानमन्त्री कार्यालयको टोली र विभागको टोलीले उनीहरू राखिएको हिरासतमा छड्के जाँच गरेको थियो। प्रधानमन्त्री कार्यालयले यस विषयमा छुट्टै छानबिन पनि अघि बढाइरहेको जानकारी पाइएको छ।
हिमालयन बैंकको ऋण विवाद केन्द्रमा
विभागको अनुसन्धान अनुसार हिमालयन बैंकबाट जगदम्बा स्टिलका नाममा लिइएको ऋणमध्ये करिब ४३ करोड रुपैयाँ दीपक भट्टको खातामा पुगेको देखिएको छ। यही सिलसिलामा शंकर ग्रुप र भट्ट एकअर्कासँग जोडिएका हुन्। यसका अतिरिक्त विभागले हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर सम्बन्धमा पनि अनुसन्धान जारी राखेको छ।
शुलभको स्वास्थ्य चिन्ताजनक, मानसिक वार्डमा भर्ना
लामो समय हिरासतमा बस्नुपरेपछि शुलभको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको छ। विभागले उनलाई पटकपटक पाटन अस्पताल भर्ना गरेको छ। एक हप्ता मानसिक वार्डमा राखिएका शुलभलाई दुई दिनअघि मात्र डिस्चार्ज गरिएको पाटन अस्पतालका निर्देशक रवि शाक्यले पुष्टि गरे।
शाक्यले भने, '११ दिन भर्ना भएर बस्नुभएको हो, दुई दिन अघि मात्रै डिस्चार्ज गरेका हौँ।'
मानसिक वार्डबाट डिस्चार्ज भएको २४ घण्टा नपुग्दै स्वास्थ्यमा पुनः समस्या देखिएपछि सोमबार साँझ शुलभलाई फेरि पाटन अस्पताल भर्ना गरिएको थियो। मंगलबार बिहान अस्पतालले डिस्चार्ज गरेपछि उनलाई पुनः थुनामा लगिएको छ। यस विषयमा ललितपुर प्रहरीले औपचारिक जानकारी दिन भने अस्वीकार गरेको छ।
अनुसन्धान अन्तिम चरणमा : महानिर्देशक ढकाल
सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक निर्मल ढकालले अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिए।
ढकालले भने, 'हामीले शुलभसहितका आरोपीको अनुसन्धान गरिनै राखेका छौँ, अब अन्तिम चरणमा पुगेको छ। अस्पताल भर्ना गर्ने कुरा पनि अनुसन्धानकै चरण हो।'
कोभिडकालमा पनि विवादमा परेका थिए शुलभ
शुलभ यसअघि पनि विवादमा तानिएका व्यवसायी हुन्। कोभिड महामारीको समयमा 'थर्मल गन'को कालो बजारी गरेको आरोपमा २०७६ चैत २५ मा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नक्सालबाट पक्राउ गरेको थियो। सस्तो मूल्यमा ल्याइएको थर्मल गन १५ हजार रुपैयाँसम्म बेचेको आरोपमा उनी त्यतिबेला २४ दिन प्रहरीको थुनामा बस्नुपरेको थियो।




