काठमाडौं — चालु आर्थिक वर्षको पहिलो १० महिनामा देशभरका बैंक तथा वित्तीय संस्थाका १४९ शाखा बन्द भएका छन्। नेपाल राष्ट्र बैंकले ल्याएको शाखा समायोजन नीतिसँगै ठूला सहरभित्र धेरै शाखा सञ्चालनमा रहेका वाणिज्य बैंक र विकास बैंकहरूले शाखा गाभ्ने क्रम बढाएका हुन्।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले महानगरपालिकाभित्र बढी शाखा भएका बैंकलाई आवश्यकताअनुसार शाखा एकीकरण गर्न बाटो खोलिदिएको थियो। यसैको परिणामस्वरूप काठमाडौं, ललितपुर, पोखरा, विराटनगर, वीरगन्ज र भरतपुरमा रहेका ७ वाणिज्य बैंक र ३ विकास बैंकका जम्मा ११८ शाखा समायोजन भएका छन्।
राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार डिजिटल बैंकिङको प्रयोग बढेसँगै भौतिक शाखाको आवश्यकता घटेपछि यो नीति ल्याइएको हो। उनले शाखा गाभ्दा ग्राहकले पाउने सेवामा असर पर्न नहुने र कर्मचारी कटौती गर्न नपाइने स्पष्ट पारेका छन्। शाखा बन्द भएको निहुँमा कर्मचारीलाई दुर्गम ठाउँमा सरुवा गरी जागिर छाड्न बाध्य पार्न नपाइने र त्यस्तो भएमा राष्ट्र बैंकमा उजुरी दिन सकिने उनले बताए।
आँकडाअनुसार वैशाखसम्म वाणिज्य बैंकका १४१ र विकास बैंकका १५ शाखा घटेका छन्, जबकि फाइनान्स कम्पनीका भने २ नयाँ शाखा थपिएका छन्। शाखा गाभ्नेमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि छ, जसले ४४ शाखा गाभेको छ। त्यसपछि कुमारी बैंकले २४, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १८ र प्रभु बैंकले १२ शाखा एकीकरण गरेका छन्। विकास बैंकतर्फ महालक्ष्मीले ४, मुक्तिनाथ र सप्तकोशीले २–२ शाखा गाभेका छन्।
यसरी असार मसान्तमा ५,०९९ रहेको वाणिज्य बैंकको शाखा संख्या वैशाखसम्म घटेर ४,९६३ मा झरेको छ, जबकि विकास बैंकका शाखा १,१३२ बाट १,११९ मा सीमित भएका छन्। बैंकिङ क्षेत्रका जानकारहरूले डिजिटल कारोबार बढेसँगै शाखामा ग्राहकको उपस्थिति घट्दै गएको र सञ्चालन खर्च कम गर्न शाखा समायोजनको प्रक्रिया आगामी दिनमा पनि जारी रहने अनुमान गरेका छन्।




