नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप तीन ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि अनुमति प्रदान गरेको छ। नबिल स्टक डिलर, एनआइएमबि स्टक मार्केट्स र हिमालयन सेक्युरिटिजले यो अनुमति पाएसँगै अब ९२ मध्ये ३१ वटा ब्रोकर कम्पनीले मार्जिन सेवा प्रदान गर्न सक्ने भएका छन्।
नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ बमोजिम "मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२" स्वीकृत गर्दै गत फागुन १ गतेदेखि यो सेवा लागू गरेको थियो। यसअघि नै २८ वटा पुराना ब्रोकर कम्पनीले अनुमति पाइसकेका थिए, तर व्यवस्था कार्यान्वयनमा नआएका कारण सेवा सुरु हुन सकेको थिएन।
तथापि, अनुमति पाएका ३१ मध्ये हालसम्म केवल एउटा — नासा सेक्युरिटिजले मात्र मार्जिन कारोबार सञ्चालनमा ल्याएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार केही नयाँ ब्रोकर कम्पनीहरूले नेपाल राष्ट्र बैंकसँग अनुमति मागेका छन् र राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि मात्रै उनीहरूले मार्जिन कारोबार सञ्चालन गर्न पाउनेछन्।
मार्जिन कारोबारको अनुमति पाएका ब्रोकर कम्पनीहरूमा क्रिष्टल कञ्चनजङ्घा सेक्युरिटिज, सेक्यूर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, प्राइमो सेक्युरिटिज, कोहिनूर इन्भेष्टमेन्ट, दीपशिखा धितोपत्र कारोबार, इम्पेरियल सेक्युरिटिज, दिव्या सेक्युरिटिज, अर्यतारा इन्भेष्टमेन्ट, डाइनामिक मनी म्यानेजर्स, दक्षिणकाली इन्भेष्टमेन्ट, श्वेता सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, निभ सेक्युरिटिज, श्रीहरी सेक्युरिटिज, नासा सेक्युरिटिज, सिप्रवी सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ, सुन्धारा सेक्युरिटिज, क्रियटिभ सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, एबिसी सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, सनी सेक्युरिटिज, ओपन सेक्युरिटिज, कालिका सेक्युरिटिज, नबिल स्टक डिलर, नागरिक स्टक डिलर, एनआइएमबि स्टक मार्केट्स र हिमालयन सेक्युरिटिज रहेका छन्।



