जेन जी आन्दोलनपछि बैंकिङ सेवा पूर्णरुपमा सुचारु, गभर्नरले व्यवसायी र बैंकरसँग गरे छलफल
Author
NEPSE TRADING

काठमाडौं । जेन जी आन्दोलनका कारण प्रभावित भएको बैंकिङ सेवा आइतबारदेखि पूर्णरुपमा सुचारु भएको छ। नेपाल बैंकर्स संघका अनुसार मुलुकभरका सबै बैंक तथा वित्तीय संस्था आइतबारदेखि सञ्चालनमा आएका छन्। आन्दोलनबाट क्षति पुगेका शाखा कार्यालय र एटिएम पनि चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक, निजी क्षेत्रका व्यवसायी र उद्योगीहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्। छलफलमा आन्दोलनका कारण उद्योग व्यवसायले व्यहोरेको ठूलो क्षतिलाई सम्बोधन गर्न विशेष राहत प्याकेज ल्याउनुपर्ने माग व्यवसायीहरूले राखेका छन्।
गभर्नर पौडेलले बैंकहरूसँग पनि अलग्गै छलफल गर्दै, प्रभावित व्यवसायीहरूलाई कस्तो प्याकेज ल्याएर सहुलियत दिन सकिन्छ भन्ने बारे सम्भावनाहरूमा विचार–विमर्श गरेका छन्।