नेप्से र समग्र बजारको अवस्था
बुधबार नेप्से परिसूचक ३४.४२ अंकले वृद्धि भई २६९४.८२ विन्दुमा पुगेर बन्द भएको छ। लगातार चौथो दिन उकालो लागेको नेप्सेले लगानीकर्तामा थप आत्मविश्वास जगाएको छ। पछिल्लो केहि हप्ता करेक्सनमा रहेको बजार असार महिनाको मध्यदेखि क्रमशः सुधार हुँदै गएको छ। सस्तो मूल्यमा पुगेका सेयरहरूले पुनः आकर्षण बढाएपछि लगानीकर्ता तथा प्राविधिक विश्लेषक बजार प्रवेशमा सक्रिय देखिएका छन्।
यसैबीच बैंकिङ प्रणालीमा तरलता प्रशस्त छ भने ब्याजदर ऐतिहासिक रूपमा न्यून विन्दुमा रहेकाले लगानीका लागि वातावरण अनुकूल बन्दै गएको छ। साथै, असार मसान्तपछि कम्पनीहरूले चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने तयारीमा छन् र त्यसपछि लाभांश घोषणाको चरण सुरु हुने भएकाले सेयर खरिदमा लगानीकर्ता आक्रामक देखिएका छन्।
कारोबार रकम उच्चतम, लगानीकर्ताको सहभागिता बढ्दो
बुधबारको दिन ३१७ स्टकको ८९,४६८ पटकको कारोबारमार्फत ३ करोड १ लाख ८२ हजार कित्ता सेयर किनबेच भयो। कुल कारोबार रकम ९ अर्ब ७४ करोड रुपैयाँ पुग्यो, जुन अघिल्लो दिनको तुलनामा करिब २ अर्ब ७० करोडले बढी हो। लगानीकर्ताको बढ्दो विश्वासका कारण बजारको कारोबार रकम उच्च हुँदै गएको देखिन्छ।
यस दिन ग्रीन डेभलपमेन्ट बैंक र खानी खोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। नेपाल इन्स्योरेन्सको सेयर मूल्य १०% नजिक पुगेको छ भने गुराँस लघुवित्त ९% माथि उक्लिएको छ।
शीर्ष कारोबार भएका स्टकहरू
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी ५५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबारसहित शीर्ष स्थानमा रह्यो। दोस्रो स्थानमा साहस उर्जा (४९ करोड ५० लाख) र तेस्रोमा सप्तकोशी डेभलपमेन्ट बैंक (३५ करोड) रहे।
साथै, सबै १३ उपसमूहका परिसूचक हरियो क्षेत्रमा बन्द भएका छन्। जीवन बीमा समूह सबैभन्दा बढी २.८३% ले बढेको छ। विकास बैंक र निर्जीवन बीमा पनि २% भन्दा बढीले बढेका छन् भने बैंकिङ, वित्त, लगानी र व्यापार समूह १% भन्दा बढीले उक्लिएका छन्।
प्राविधिक विश्लेषण : २०० दिने मूभिङ एभरेज माथिको क्लोज

प्राविधिक रूपमा, नेप्से सूचक बुधबार २०० दिने मूभिङ एभरेज माथि क्लोज भएको छ, जुन बजारको दीर्घकालीन ट्रेन्ड परिवर्तनको संकेत मानिन्छ। पछिल्ला २४ क्यान्डल हेर्दा सूचकले २००MA माथि ब्रेकआउट गरेर क्लोज गरेको देखिन्छ। RSI सूचक पनि ६३ माथि पुगेको छ, जुन बुलिस अवस्था हो तर ओभरबोट भने छैन। यसले बजारमा अझै उकालो ट्रेन्ड (Higher High) को सम्भावना प्रबल बनाएको छ।
सेक्टर रोटेशन सुरु : हाइड्रोको प्रभुत्व घट्दो
यो दिन हाइड्रोपावर समूहको कारोबार हिस्सा ५०% भन्दा कममा झरेको छ, जुन लामो समयपछिको पहिलोपटक हो। यसले बजारमा सेक्टर रोटेशन सुरु भएको देखाउँछ। इन्स्योरेन्स, माइक्रोफाइनान्स, विकास बैंक र इनभेष्टमेन्ट समूहमा कारोबार हिस्सा उल्लेखनीय रूपमा बढेको छ।
ब्रोकर विश्लेषण : मुनाफा बुकिङ तर बजार बलियो

शीर्ष १० ब्रोकरमध्ये ६ ब्रोकरको बिक्री हिस्सा किनमेलभन्दा बढी देखिएको छ, जसले केही लगानीकर्ताले मुनाफा बुकिङ गरिरहेका छन् भन्ने देखाउँछ। तर समग्र खरिद उच्च भएकाले बजारमा यसको नकारात्मक असर परेको छैन।
– ब्रोकर नं. ५८ ले सबैभन्दा धेरै १ अर्ब ४२ करोड बराबरको कारोबार गर्यो (बाई: ६४ करोड, सेल: ७८ करोड)
– ब्रोकर नं. ४९ ले ८८ करोड कारोबार गर्दा (बाई: ५१ करोड, सेल: ३७ करोड)
– ब्रोकर नं. ३४ (बाई: ३७ करोड, सेल: ४० करोड)
– ब्रोकर नं. ४२ (बाई: ३१ करोड, सेल: ३३ करोड)
स्टक विश्लेषण


– ब्रोकर नं. ५८ बाट NRN इन्फ्रास्ट्रक्चरमा ९९ हजार कित्ता खरीद र १ लाख २३ हजार कित्ता बिक्री भयो, जुन कुल सेलको झण्डै ५०% हो।
– लक्ष्मी सनराइज बैंकमा ब्रोकर ३६ बाट ६६ हजार कित्ता बाई
– खानी खोला हाइड्रोमा ब्रोकर ६४ बाट ६३ हजार कित्ता बाई
– चिलिमे हाइड्रोमा ब्रोकर ६५ बाट ५६ हजार कित्ता बाई
– सप्तकोशी डेभलपमेन्ट बैंकमा ब्रोकर ४१ बाट १ लाख ३७ हजार कित्ता बिक्री (कुल सेयरको ४३% हिस्सा)
नेप्से सूचक २०० MA माथि पुग्नु, RSI को बलियो सिग्नल, कारोबार रकममा वृद्धि, र सेक्टर रोटेशन – यी सबैले बजारमा नयाँ उचाईको संकेत गरिरहेका छन्। लाभांश सिजन, सस्तो ब्याजदर र लगानीकर्ताको भरोसाले बजार अझै उकालो लाग्ने सम्भावना प्रवल छ। यद्यपि, विवेकपूर्ण निर्णय र सावधानीपूर्वक विश्लेषण अझै आवश्यक छ।









