६५ गैर-बैंकिङ संस्थामाथि राष्ट्र बैंकको कारबाही
Author
NEPSE trading

नेपाल राष्ट्र बैंकले गैरकानुनी काम गर्ने ६५ गैर-बैंकिङ संस्थामाथि कारबाही गरेको छ। गैर-बैंकिङ सुपरिवेक्षण विभागले १५८ संस्थाको निरीक्षण गर्दा ६५ वटाले कानुन उल्लंघन गरेको फेला पारेको हो। ‘नन-बैंकिङ फाइनान्सियल इन्स्टिट्युसन सुपरिवेक्षण रिपोर्ट २०२३/२४’ अनुसार १४८ स्थलगत र ९ फलो-अप निरीक्षण गरिएको थियो।
कारबाहीमा ५० भन्दा बढी संस्थालाई सुधारात्मक निर्देशन, १० लाई जरिवाना, ५ को अनुमतिपत्र निलम्बन र २ को इजाजत खारेज गरिएको छ। रेमिट्यान्स, मनी चेन्जर, होटल, ट्राभल, एयरलाइन्सलगायतका संस्थाहरूले राष्ट्र बैंकको निर्देशिका पालना नगरेको, जोखिम व्यवस्थापन र पारदर्शिता अभाव देखिएको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकले वित्तीय प्रणालीमा स्थायित्व र विश्वसनीयता कायम गर्न यस्तो कदम चालेको जनाएको छ। गम्भीर उल्लंघन गर्ने संस्थामाथि थप कारबाही हुने विभागको भनाइ छ।