वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर असार महिनामा थप घटेको छ। बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार हालसम्म प्राप्त १७ वाणिज्य बैंकमध्ये ७ वटाले ब्याजदर घटाएका छन् भने १० वटाले जेठकै दर कायम राखेका छन्।
यी बैंकले घटाए ब्याजदर
असारका लागि ब्याजदर घटाउने बैंकहरूमा लक्ष्मी सनराइज, एभरेष्ट, हिमालयन, एनआईसी एसिया, एनएमबि, प्राइम कमर्सियल र स्ट्यान्डर्ड चार्टर्ड रहेका छन्।
लक्ष्मी सनराइजले जेठमा ४.५० प्रतिशत दिँदै आएकोमा असारमा घटाएर ४ प्रतिशत कायम गरेको छ। एभरेष्टले ३.५० प्रतिशत तोकेको छ। हिमालयनले ४.०५ प्रतिशतबाट घटाएर ४ प्रतिशत पुर्याएको छ। एनआईसी एसियाले ४.५० बाट घटाएर ४ प्रतिशत, एनएमबिले ४.८० बाट घटाएर ४.७५ प्रतिशत, प्राइम कमर्सियलले ४.१५ बाट घटाएर ४ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ५ प्रतिशतबाट उल्लेख्य कटौती गर्दै ३.९५ प्रतिशत तोकेको छ।
यी बैंकले राखे दर स्थिर
जेठकै ब्याजदर असारमा पनि कायम राख्ने बैंकहरूमा कृषि विकास, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, सिद्धार्थ, प्रभु, सिजिन्स र नेपाल इन्भेस्टमेन्ट मेगा रहेका छन्।
यीमध्ये कृषि विकासले ४.१५ प्रतिशत, ग्लोबल आइएमईले ४.५० प्रतिशत, माछापुच्छ्रेले ४.५० प्रतिशत, नेपाल बैंकले ४.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत, सानिमाले ४.५० प्रतिशत, सिद्धार्थले ४.०५ प्रतिशत, प्रभुले ४.५५ प्रतिशत, सिजिन्सले ४.१० प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगाले ४.५० प्रतिशत ब्याज दिने भएका छन्।
ब्याजदरमा आएको यो गिरावटले निक्षेपकर्तामाथि थप दबाब पर्ने देखिएको छ। बजारमा तरलता पर्याप्त रहेको र कर्जाको माग सुस्त रहेको कारण बैंकहरूले ब्याजदर घटाउने क्रम जारी राखेका विश्लेषकहरूको भनाइ छ।





