पछिल्ला दिनमा बजार अनुगमन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र बनाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ वटा उद्योग तथा फर्ममाथि आइतबार कारबाही गरेको छ। उपभोक्तामाथि धोका हुने कार्य, गुणस्तरहीन सेवा र अनुचित व्यापारिक क्रियाकलापमा संलग्न भेटिएका व्यवसायलाई विभागले विभिन्न तहका जरिवाना र निर्देशन दिएको हो।
विभागका अनुसार भक्तपुर मध्यपुरथिमिमा अवस्थित हलेसी मार्ट प्रालिलाई २ लाख रुपैयाँ, र त्यही स्थानको ओम शिवशक्ति सेरामिक प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र ३८ अनुसारका कसुरमा ऐनकै दफा ३९(१) बमोजिम विभागले तत्कालै कारबाही गरेको हो।
एकैपटक काठमाडौँ र भक्तपुरका विभिन्न उद्योग र प्रतिष्ठानमा गरिएको अनुगमनका क्रममा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा तथा विक्री प्रक्रियामा कैफियत भेटिएका व्यवसायलाई कारबाही गरिएको विभागले जनाएको छ। यस्ता अनियमितता ‘अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप’ को श्रेणीमा पर्ने हुन्छ।
उपभोक्ता संरक्षण ऐनको दफा ३९ अनुसार, अनुगमनका क्रममा तत्काल प्राप्त प्रमाणका आधारमा उत्पादन, ढुवानी, सञ्चयन, पैठारी र विक्री गर्ने व्यवसायले कसुर गरेको पाइएमा निरीक्षण अधिकृतले रु २ लाखदेखि ३ लाखसम्म जरिवाना गर्न सक्ने प्रावधान छ। विभागले यही अधिकार प्रयोग गर्दै पछिल्लो समयमा बजार नियमनलाई थप कडा बनाएको छ।
यसै क्रममा, काठमाडौँ क्षेत्रपाटीस्थित होम मेड स्पाइन्स एण्ड टी सप्लायलाई २० हजार रुपैयाँ, गट्ठाघरस्थित जिकेएसएस इन्टरप्राइजेज प्रालिलाई १० हजार रुपैयाँ, र क्षेत्रपाटीस्थित आशिष ट्रेड लिङ्कलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। यी प्रतिष्ठानमा गुणस्तर, मूल्यसूचना तथा लेखापुस्तिकामा अनियमितता रहेको पाइएको विभागले बताएको छ।
यस्तै, काठमाडौँ क्षेत्रपाटीको आइके सर्जिकल सप्लायर्सलाई ५५ हजार रुपैयाँ जरिवानासहित २४ घण्टाभित्र उपस्थित हुन निर्देशन दिइएको छ। टोखा–८ मा अवस्थित सिटी मिनरल वाटर एण्ड बेभरेज प्रालिलाई भने व्यवसायसम्बन्धी कागजात सहित तीन दिनभित्र विभागमा उपस्थित हुन आदेश गरिएको छ।
अन्य ७ वटा उद्योग तथा फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ। विभागले पछिल्ला दिनमा उपभोक्ताको हकहित संरक्षण, कालोपत्री रोकथाम, मूल्य नियन्त्रण तथा उपभोग्य वस्तुको गुणस्तर सुनिश्चितताका लागि अनुगमनलाई निरन्तर कडाइका साथ अघि बढाइरहेको छ।





