काठमाडौँ — धितोपत्र बजारमा यो साता सूचकको गति सुस्त देखिए पनि कारोबार रकम र लगानीकर्ताको सहभागितामा भने उल्लेख्य उत्साह देखिएको छ । साप्ताहिक आधारमा नेप्से परिसूचक ६ दशमलव ८८ अंक अर्थात् ० दशमलव २६ प्रतिशतको सामान्य वृद्धिसहित २ हजार ६ सय २८ दशमलव १७ विन्दुमा अडिएको छ । अघिल्लो साता २ हजार ६ सय २१ दशमलव २९ विन्दुमा बन्द भएको बजारले यो साता पाँच कारोबार दिनमध्ये तीन दिन हरियाली र दुई दिन सामान्य करेक्सनको बाटो समात्यो ।
बजारको मुख्य सूचक झिनो अंकले मात्र उकालो लागे पनि दैनिक औसत कारोबार रकममा २४ दशमलव १५ प्रतिशतको छलाङ आउनुलाई अर्थपूर्ण मानिएको छ । अघिल्लो साता दैनिक औसत ४ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा यो साता बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यसका साथै दैनिक औसत सेयर खरिदबिक्री संख्यामा ३४ दशमलव ८२ प्रतिशत र कारोबार संख्यामा १२ दशमलव ३९ प्रतिशतको वृद्धि देखिएको छ । सूचक स्थिरजस्तै रहँदा भोल्युम र कारोबार रकम बढ्नुले बजारमा तल्लो तहबाट सेयर उठाउने (एक्युमुलेसन) क्रम तीव्र भएको संकेत गर्छ । कुल बजार पुँजीकरणसमेत १९ अर्ब रुपैयाँले थपिएर ४५ खर्ब ३१ अर्ब रुपैयाँ कायम भएको छ ।
समूहगत परिसूचकतर्फ लगानीकर्ताको रोजाइ यो साता आधारभूत रूपले बलिया र संस्थागत क्षेत्रतर्फ मोडिएको देखिन्छ । कारोबार भएका १३ उपसमूहमध्ये ९ वटा राताम्मे रहँदा पनि विकास बैंक, वाणिज्य बैंक र लगानी उपसमूहको चमकले समग्र बजारलाई हरियो बनायो । प्रतिशत र अंक दुवै हिसाबले सर्वाधिक १ दशमलव ३७ प्रतिशत (७४ दशमलव २८ अंक) ले बढेर विकास बैंक उपसमूह ५ हजार ४ सय ८२ दशमलव ७७ विन्दुमा पुगेको छ । वाणिज्य बैंक र लगानी समूहमा १ प्रतिशतभन्दा बढीको सुधार देखिनुले दीर्घकालीन तथा संस्थागत लगानीकर्ताहरू सुरक्षित क्षेत्रतर्फ आकर्षित भएको पुष्टि गर्छ । उता, लघुवित्त उपसमूह १ दशमलव ५७ प्रतिशत (६९ दशमलव ३५ अंक) ले ओरालो लाग्दै ४ हजार ३ सय ३३ दशमलव ५३ विन्दुमा झरेको छ भने अंकका आधारमा उत्पादन तथा प्रशोधन समूहले सर्वाधिक ८६ दशमलव ९२ अंक गुमाएको छ ।
प्राविधिक दृष्टिकोणबाट विश्लेषण गर्दा पनि नेप्से अहिले 'शक्ति सञ्चय' (कन्सोलिडेसन) कै चरणमा रहेको स्पष्ट हुन्छ । साताको अन्तिम कारोबार दिन ८ दशमलव ५८ अंक (० दशमलव ३३ प्रतिशत) को करेक्सन व्यहोर्दै २ हजार ६ सय २८ दशमलव १७ विन्दुमा थामिएको बजारले दिनभर २ हजार ६ सय ३९ दशमलव २४ को उच्च र २ हजार ६ सय २१ दशमलव २८ को न्यून विन्दु बनाएको थियो । चार्टको संरचना अनुसार, नेप्से २ हजार ६ सयदेखि २ हजार ६ सय १५ विन्दुको 'फेयर भ्यालु ग्याप' (एफभीजी) र ट्रेन्डलाइनको बलियो टेवा क्षेत्रको ठीक माथि अडिएको छ । यो क्षेत्र भत्किएमा २ हजार ५ सय ६५ देखि २ हजार ५ सय ८० विन्दुको 'अर्डर ब्लक' ले बजारलाई जोगाउने देखिन्छ ।
यद्यपि, माथिल्लो तहमा २ हजार ७ सय १० देखि २ हजार ७ सय ५५ विन्दुको 'प्रिमियम' क्षेत्र नेप्सेका लागि बलियो अवरोधका रूपमा खडा छ । बजारको गति मापन गर्ने सूचक 'आरएसआई' ४८ दशमलव ०८ विन्दुमा रहनुले बजारमा न त अत्यधिक खरिद चाप छ न त बिक्रीको आत्तिहाल्नुपर्ने अवस्था नै छ भन्ने तटस्थ संकेत दिन्छ । साताको अन्तिम दिन सूचक घट्दा कारोबार रकम ४ अर्ब ७३ करोड रुपैयाँमा खुम्चिनुले पनि लगानीकर्ताहरू सस्तो मूल्यमा सेयर फाल्न तयार नरहेको देखाउँछ ।
समग्रमा, यो साताको बजार व्यवहारले नेप्से एउटा निर्णायक मोडमा उभिएको देखाउँछ । बैंकिङ र विकास बैंक समूहमा देखिएको खरिद चाप र २४ प्रतिशतले बढेको साप्ताहिक औसत कारोबार रकमले बजारको भित्री जग बलियो बन्दै गएको छ । आगामी साता प्राविधिक रूपमा २ हजार ६ सय ४० विन्दुको अवरोध पार गर्दै आरएसआई ५० भन्दा माथि उक्लन सकेमा बजारले पुनः २ हजार ७ सय विन्दुको उकालो यात्रा समात्ने बलियो आधार बनेको छ ।




