काठमाडौं, भदौ — चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति घटेर १.६८ प्रतिशतमा सीमित भएको छ। गत वर्ष सोही महिनामा यो दर ४.०९ प्रतिशत पुगेको थियो। यसपटक खाद्य मूल्यमा आएको ठूलो गिरावटले समग्र मुद्रास्फीति तल्लो स्तरमा सीमित भएको हो।
खाद्य मूल्य घट्दा समग्र मुद्रास्फीति तल
नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ऋणात्मक २.२८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही महिनामा यो समूहको मुद्रास्फीति ६.१७ प्रतिशत थियो। तर, गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने बढ्दै ३.९५ प्रतिशत पुगेको छ, जुन गत वर्षको २.९४ प्रतिशत भन्दा बढी हो।
तरकारी सस्तो, घ्यू–तेल महँगो
उप-समूहगत विवरण हेर्दा घ्यू तथा तेलको मूल्य १०.९७ प्रतिशतले बढ्यो, गैर–मदिराजन्य पेय पदार्थ ४.६४ प्रतिशत र फलफूल ३.०१ प्रतिशत बढेको छ। तर, तरकारीको मूल्य भने १८.५६ प्रतिशतले घटेको छ। मसला पदार्थमा ४.८१ प्रतिशतको गिरावट आयो भने मासु तथा माछामा २.४१ प्रतिशतको कमी भएको छ। यी गिरावटहरूले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक बनाउन ठूलो योगदान दिएका छन्।
गैर–खाद्य समूहमा शिक्षा र विविध वस्तु महँगो
गैर–खाद्य तथा सेवा समूहमा प्रायः सबै उप–समूहमा मूल्य बढेको छ। विविध वस्तु तथा सेवामा सबैभन्दा धेरै १०.६० प्रतिशत वृद्धि भएको छ। त्यसैगरी, शिक्षा क्षेत्रमा ७.६७ प्रतिशत, कपडा तथा जुत्ताचप्पलमा ६.८४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणमा ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थमा ४.६८ प्रतिशत वृद्धि भएको छ। बीमा तथा वित्तीय सेवामा भने ०.२२ प्रतिशतको गिरावट देखिएको छ।
ग्रामीण र शहरी दुवै क्षेत्रमा न्यून मुद्रास्फीति
साउन महिनामा ग्रामीण क्षेत्रमा मुद्रास्फीति १.६५ प्रतिशत र शहरी क्षेत्रमा १.७० प्रतिशत रहेको छ। दुवै क्षेत्रमा मूल्यवृद्धि न्यून स्तरमा सीमित देखिएको छ।
प्रदेशगत फरक
प्रदेशगत विवरण अनुसार, कोशी प्रदेशमा सबैभन्दा बढी २.८४ प्रतिशत मुद्रास्फीति भएको छ। त्यसपछि मधेशमा १.८६ प्रतिशत, कर्णालीमा १.७९ प्रतिशत, बागमतीमा १.६७ प्रतिशत, लुम्बिनीमा १.३५ प्रतिशत, गण्डकीमा १.०३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ०.३१ प्रतिशत मुद्रास्फीति देखिएको छ।
भौगोलिक हिसाबले उपत्यका र हिमाल बढी महँगो
काठमाडौं उपत्यकामा मुद्रास्फीति २.२६ प्रतिशत पुगेको छ। हिमाल क्षेत्रमा २.५९ प्रतिशत, पहाडमा १.५६ प्रतिशत र तराईमा सबैभन्दा कम १.३३ प्रतिशत मुद्रास्फीति देखिएको छ।
अर्थतन्त्रका विश्लेषकहरूका अनुसार आपूर्ति सुधार, मौसमी कारण र उत्पादन बढेपछि तरकारी तथा खाद्य वस्तु सस्तो भएको हो। जसको प्रत्यक्ष असर मुद्रास्फीति घटेर न्यून स्तरमा देखिएको छ। मुद्रास्फीति घट्नु उपभोक्ताका लागि राहत भए पनि कृषकका लागि मूल्य नपाउने चिन्ता रहेको छ।





