पछिल्ला केही सातायता नेप्सेमा अल्पकालीन लगानीकर्ताको सक्रियता तीव्र भएको देखिएको छ। लगानीकर्ताले लगातार रूपमा विभिन्न समूहहरूमा सेक्टर सिफ्ट गरिरहेका छन्। बजेटपछिको सुरुवातमा बैंकिङ समूहमा देखिएको आकर्षण अहिले लघुवित्त समूहमा केन्द्रित हुन थालेको छ।
मंगलबारको कारोबारमा नेप्से परिसूचक ३.९० अंकले घट्दै २६५४.७५ विन्दुमा झरेको छ। अघिल्लो दिन १३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भए पनि मंगलबार कारोबार रकम घटेर ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँमा सीमित भयो।
१३ मध्ये १० उपसमूहमा गिरावट आउँदा लघुवित्त समूह भने १ प्रतिशतभन्दा बढीले बढ्यो। लघुवित्त अन्तर्गत ५० मध्ये ४५ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ। सामुदायिक लघुवित्तको मूल्य ७ प्रतिशतले बढ्दा विपरित गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ४.६२ प्रतिशतले घट्यो।
टेक्निकल विश्लेषकहरूका अनुसार नेप्से हाल 'Higher Low' को ट्रेन्डमा छ। यदि बजारले २७०० विन्दु पार गर्यो भने आत्मविश्वास बढ्ने सम्भावना छ भने २६३० भन्दा तल झरेमा बजार कमजोर हुने चेतावनी विश्लेषकले दिएका छन्। हाल बैंकिङ, जलविद्युत् र लघुवित्त समूहको उपसूचक सकारात्मक देखिएको छ।
ब्रोकर विश्लेषण हेर्दा टप १० ब्रोकरमध्ये ६ वटाले बाई बढी गरेका छन्। सबैभन्दा बढी कारोबार गर्ने ब्रोकर नं. ४५ ले १ अर्ब १४ करोड बराबरको कारोबार गर्दै ५२ करोड बाई र ६१ करोडको सेल गरेको छ। सानिमा माइ हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार (७५ करोड नजिक) भएको छ भने लगानीकर्ताले सबैभन्दा धेरै ब्रोकर नं. ४५ मार्फत सानिमा शेयर किनबिक्री गरेका छन्।
बजार अझै साइडवेज ट्रेन्डमै भए पनि लघुवित्त समूहको प्रदर्शन र ब्रोकर क्रियाशीलताले अल्पकालीन लगानीकर्ताको प्रभाव बढ्दै गएको संकेत गरेको छ। विश्लेषकले प्राविधिक सूचकहरूको नजिकबाट निगरानी गर्दै सतर्क रहन लगानीकर्तालाई सुझाव दिएका छन्।





