·

लगानीकर्ताले राष्ट्र बैंकलाई बुझाए ६ बुँदे ज्ञापनपत्र

Author

NEPSE TRADING

लगानीकर्ताले राष्ट्र बैंकलाई बुझाए ६ बुँदे ज्ञापनपत्र

काठमाडौं । पछिल्ला दिनमा आएको निरन्तर गिरावटसँगै शेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका छन्। बिहीबार (असोज २) मात्र नेप्से परिसूचक झण्डै १६० अंकले घट्दा करिब ३ खर्ब रुपैयाँ बराबरको बजार पुँजीकरण गुमेको तथ्याङ्कले देखाएको छ। यसले लगानीकर्ताको मनोबलमा गम्भीर नकारात्मक असर पारेको भन्दै तत्काल सुधारात्मक कदम चाल्न माग गरिएको छ।

संयुक्त रूपमा बुझाइएको ज्ञापनपत्रमा शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघ का पदाधिकारीहरूले हस्ताक्षर गरेका छन्।

ज्ञापनपत्रमा राखिएका मुख्य मागहरू यसप्रकार छन् :

  • बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजार (Secondary Market) मा सहज रूपमा शेयर खरिद–बिक्री गर्ने अनुमति दिनु।

  • व्यक्तिगत शेयर धितो कर्जा (Single Obligatory) को सीमा बढाउनु।

  • लघुवित्त संस्थाले लाभांश वितरण गर्दा देखिएको समस्या समाधान गर्न स्पष्ट नीति ल्याउनु।

  • बैंक तथा वित्तीय संस्थाले शेयर बजारमा गर्ने लगानीको सीमा पुनरावलोकन गरी यथोचित बनाउनुपर्ने।

  • सहकारी संस्थाहरूलाई पनि शेयर धितो कर्जा प्रवाह गर्ने अनुमति दिनु।

  • गैरआवासीय नेपाली (NRN) लाई पूँजी बजारमा सहज प्रवेश दिलाई लगानीबाट आर्जित नाफा स्वदेश भित्र्याउन कानुनी सुविधा उपलब्ध गराउनु।

लगानीकर्ताहरूले राष्ट्र बैंकले यी बुँदाहरूलाई कार्यान्वयन गरे बजारमा स्थायित्व कायम हुने, लगानीकर्ताको विश्वास पुनःस्थापित हुने र पूँजी बजार दीर्घकालीन रूपमा सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन्।

Related News