झापा इनर्जी लिमिटेडले आज (भदौ २० गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ९ लाख ५० हजार ४७५ कित्ता शेयर नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते प्राप्त स्वीकृतिअनुसार निष्काशन गर्न लागेको हो।
यसअघि कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री गरिसकेको छ। त्यस्तै, २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोष र ११ हजार ४०६ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ।
अब बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि उपलब्ध हुनेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। भदौ २४ गतेभित्र आवेदन दिन सकिने भए पनि पर्याप्त आवेदन नपरेमा असोज ३ गतेसम्म म्याद थपिने व्यवस्था गरिएको छ।
हालको बजार प्रवृत्तिअनुसार तोकिएको समयमा नै अत्यधिक आवेदन पर्ने प्रक्षेपण गरिएको छ। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।





