नेपाल सरकार र साउदी अरेबिया सरकार बीच श्रमिक भर्तीसम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय राजेन्द्र सिंह भण्डारी र साउदी अरेबियाका मानव संसाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलैमान अल–राज्हीले रियादमा आयोजित एक औपचारिक समारोहमा सम्झौतामा हस्ताक्षर गरेका हुन्।
यस सम्झौतासँगै नेपालले अबसम्म १३ वटा मुलुकसँग द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गरेको छ। साउदी अरेबियासँगको यो सम्झौताले नेपाली श्रमिकहरूको वैधानिक रोजगारको सुनिश्चितता, पारदर्शी भर्ती प्रक्रिया र श्रमिक र रोजगारदाताका हकहितको संरक्षण गर्ने उद्देश्य राखेको छ।
सम्झौतापछि दुवै मन्त्रीले श्रम सहकार्यलाई थप मजबुत बनाउन र नेपाल–साउदी अरेबिया द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। हस्ताक्षर समारोहपछि दुवै पक्षबीच द्विपक्षीय वार्ता पनि सम्पन्न भएको थियो।
साउदी अरेबिया नेपाली वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकहरूमध्ये एक हो। यस सम्झौताले साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र कल्याण सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा साउदी अरेबिया जानका लागि १ लाख ५२ हजार ५५७ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै, २०८०/८१ मा १ लाख ४१ हजार ५०२ र २०७९/८० मा ४६ हजार ९६० जनाले श्रम स्वीकृति प्राप्त गरेका थिए।
नेपालले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौतासहित समझदारीपत्र गर्दै आएको छ। नेपालले पहिलोपटक सन् २००५ मा कतारसँग द्विपक्षीय श्रम सम्झौता गरेको थियो। त्यसपछि अन्य गन्तव्य मुलुकहरूसँग पनि विभिन्न श्रम सम्झौताहरू र समझदारीपत्रहरू सम्पन्न गरेको छ।
हालैका वर्षहरूमा नेपालले नयाँ श्रम गन्तव्य विस्तार गर्न सफल भएको छ। विशेषगरी, सन् २०२२ मा संयुक्त अधिराज्यसँग स्वास्थ्य क्षेत्रमा श्रमिक पठाउने सम्झौता र सन् २०२३ मा रोमानियासँग श्रमिक भर्तीसम्बन्धी समझदारी र जर्मनीसँग दक्ष श्रमिक आदान–प्रदानका लागि सहकार्यसम्बन्धी संयुक्त घोषणा भएको छ।
यो नयाँ द्विपक्षीय श्रम सम्झौताले नेपाली श्रमिकहरूको लागि साउदी अरेबिया जाने प्रक्रिया अझै सहज र सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।





