नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनाको तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ।
सो अवधिमा आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको छ। यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.४ प्रतिशत र अमेरिकी डलरमा ६.९ प्रतिशतले वृद्धि भएको छ। शोधनान्तर स्थिति रु.३१० अर्ब ३७ करोडले बचतमा रहेको बैंकले जनाएको छ।
त्यस्तै, कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ। नेपाल सरकारको खर्च रु.८३९ अर्ब ३६ करोड र राजस्व परिचालन रु.७२० अर्ब ३५ करोड रहेको तथ्यांकमा उल्लेख छ।
विस्तृत मुद्राप्रदाय ४.८ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ४.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बढेको छ। वार्षिक आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.७ प्रतिशत रहेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको यो तथ्यांकले मुलुकको आर्थिक अवस्थामा सुधारका संकेतहरू देखिएको विश्लेषकहरूले बताएका छन्।







