स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ले पहिलोपटक औपचारिक धारणा सार्वजनिक गरेको छ । बैंकले बुधबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण लिलामी प्रक्रिया प्रचलित कानुन र बैंकिङ प्रक्रियाअनुसार नै अघि बढाइएको दाबी गरेको हो । बैंकले आफूहरूले निक्षेपकर्ताको रकम सुरक्षित गर्न कानुनी अधिकार प्रयोग गरी कर्जा असुली प्रक्रिया पूरा गरेको उल्लेख गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भने उक्त लिलामी प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ । ब्युरोका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गइसकेको सम्पत्तिलाई बैंकले लिलामीमार्फत बिक्री गरेको देखिएको छ । त्यस्तै, लिलामी सूचनामै घर बहाल र विद्युत् महसुलबापत करिब ४० करोड रुपैयाँ छुट्याइएको उल्लेख भए पनि सम्बन्धित घरधनीहरूले रकम नपाएको आरोप सीआईबीको छ । यही विषयलाई लिएर बैंकका सीईओ पाण्डेमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अनुसन्धान अघि बढाइएको हो ।
बैंकले भने उक्त आरोप अस्वीकार गर्दै ३८ करोड रुपैयाँ अहिले पनि सुरक्षित अवस्थामा रहेको जनाएको छ । बैंकका अनुसार स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण तथा सामग्री २०८२ असोज ३ गते लिलामी गरिएको थियो, जसबाट कुल ४ अर्ब ६० करोड रुपैयाँ संकलन भएको थियो । त्यसमध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरणअन्तर्गत प्रवाह गरिएको कर्जा चुक्ता गर्न प्रयोग गरिएको बैंकको भनाइ छ । बाँकी ३८ करोड रुपैयाँ ‘अर्नेस्ट मनि अक्सन एकाउन्ट’ मा रोक्का राखिएको र आवश्यक प्रमाण प्राप्त भएपछि सम्बन्धित घरधनीलाई क्रमशः भुक्तानी गरिने बैंकले स्पष्ट पारेको छ ।
बैंकले आफू ‘सुरक्षित साहु’ को हैसियतमा रहेको उल्लेख गर्दै ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ र ‘सुरक्षित कारोबार ऐन, २०६३’ ले दिएको अधिकार प्रयोग गरी प्रक्रिया अघि बढाइएको दाबी गरेको छ । निक्षेपकर्ताको रकम जोखिममा नपरोस् भन्ने उद्देश्यले कर्जा असुली निर्देशिकाको पूर्ण पालना गरिएको बैंकको भनाइ छ ।
सीईओ पाण्डेलाई नियन्त्रणमा लिएपछि बैंकिङ क्षेत्रभित्र पनि यो घटनाले तरंग सिर्जना गरेको छ । पछिल्ला वर्षहरूमा ठूला कर्जा, धितो व्यवस्थापन र संकटग्रस्त कम्पनीहरूको सम्पत्ति व्यवस्थापन प्रक्रियामाथि नियामक निगरानी बढिरहेका बेला यो प्रकरणले बैंकको कानुनी अधिकार र सरकारी निकायको नियन्त्रणबीचको सीमारेखामाथि बहस सुरु गराएको छ ।
बैंकले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । आवश्यक सबै कागजात सम्बन्धित निकायलाई उपलब्ध गराइएको उल्लेख गर्दै बैंकले आगामी दिनमा पनि सहकार्य जारी रहने बताएको छ । साथै, यस घटनाले बैंकको दैनिक कारोबार, वित्तीय सुशासन तथा निक्षेपकर्ताको हितमा कुनै असर नपर्ने भन्दै ग्राहक, सेयरधनी र सरोकारवालालाई विश्वस्त रहन आग्रह गरेको छ ।





