एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले विभिन्न कम्पनीमा रहेको आफ्नो स्वामित्वका कुल १६ लाख ७७ हजार १६ कित्ता संस्थापक तथा साधारण सेयर बिक्री गर्ने भएको छ। मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो सेयर बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ।
कम्पनीका अनुसार सेयर बिक्रीका लागि आवश्यक स्वीकृति नेपाल धितोपत्र बोर्ड (SEBON) बाट पहिल्यै प्राप्त भइसकेको छ। अब कम्पनीले स्वीकृतिको आधारमा चरणबद्ध रूपमा सेयर बिक्री प्रक्रिया सञ्चालन गर्नेछ।
बिक्री गर्न लागिएका सेयरमध्ये कुमारी बैंकका ५ लाख ३० हजार, नेसनल माइक्रोफाइनान्स लघुवित्तका १ लाख ७ हजार ४८४, नेरुडे मिर्मिरे लघुवित्तका ७४ हजार १०६ कित्ता रहेका छन्।
त्यस्तै मेरो माइक्रोफाइनान्स लघुवित्तका संस्थापक र साधारण सेयर गरी १ लाख ६ हजार ४२४,
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका ५ लाख ९४ हजार,
हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (HIDCL) का ४० हजार १,
नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडका २ लाख २५ हजार
र नेसनल लाइफ इन्स्योरेन्सको १ कित्ता साधारण सेयर समेत बिक्री गरिने कम्पनीले जनाएको छ।
कम्पनीले सेयर पोर्टफोलियो परिमार्जन तथा रणनीतिक व्यवस्थापनका उद्देश्यले उक्त बिक्री प्रक्रिया अघि बढाइएको बताएको छ।





