अर्थमन्त्रीको कडा अभिव्यक्तिले मनोविज्ञान प्रभावित
लगातार तीन कारोबार दिनसम्म उत्साहजनक हरियाली देखिएको नेपाली शेयर बजारमा मंगलबार भने करेक्सन देखिएको छ । पछिल्ला केही दिनदेखि तीव्र गतिमा उकालो लागेको बजारमा लगानीकर्ताले छोटो अवधिको नाफा सुरक्षित गर्न थालेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दबाबमा परेको हो । बजार बढ्ने क्रम जारी रहँदा बैशाख २२, २३ र २४ गते प्रवेश गरेका धेरै लगानीकर्ताले नाफा बुक गर्न थालेपछि बजारमा बिक्री चाप बढेको विश्लेषण गरिएको छ ।
मंगलबार नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा बन्द भएको छ । यससँगै सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८९ अंकले ओरालो लागेको छ । लगातार तीन कारोबार दिनमा करिब ७३ अंकले उकालो लागेको बजारमा आएको यो गिरावटलाई धेरै विश्लेषकहरूले स्वाभाविक करेक्सनका रूपमा हेरेका छन् ।
बजार घटे पनि कारोबार रकम भने घटेको छैन । सोमबार ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कुल ३३८ कम्पनीका १ करोड ६ लाख ७८ हजार कित्ता शेयर ६२ हजार ५१२ पटक कारोबार भएका छन् । बजार घट्दा पनि कारोबार रकम उच्च रहनुलाई विश्लेषकहरूले बजारमा अझै सक्रियता कायम रहेको संकेतका रूपमा लिएका छन् । यसले बजार पूर्ण रूपमा डरको अवस्थामा नगई “प्रोफिट बुकिङ चरण” मा रहेको संकेत गरेको उनीहरूको भनाइ छ ।
उपसमूहतर्फ मंगलबार अधिकांश क्षेत्र दबाबमा देखिएका छन् । १३ मध्ये १२ उपसमूह राताम्मे हुँदा म्युचुअल फन्ड उपसमूह मात्रै सामान्य अंकले हरियो रह्यो । व्यापार उपसमूह सबैभन्दा धेरै २.३३ प्रतिशतले घटेको छ भने वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहमा पनि २ प्रतिशतभन्दा बढी गिरावट आएको छ । विकास बैंक, उत्पादन तथा प्रशोधन, लगानी, लघुवित्त लगायतका उपसमूहमा समेत बिक्री दबाब स्पष्ट देखिएको छ ।
विश्लेषकहरूका अनुसार बजारमा आएको गिरावटको अर्को महत्वपूर्ण कारण अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्ति पनि बन्न पुगेको छ । मंगलबार संसदीय समितिको बैठकमा बोल्दै उनले सीमित समूहले इन्साइडर ट्रेडिङ, कृत्रिम कारोबार र बजार हेरफेरमार्फत अर्बौं रुपैयाँ दुरुपयोग गरेको दाबी गरेका थिए । साथै दोषीलाई नछोडिने चेतावनी दिएपछि बजारमा विशेषगरी ठूला लगानीकर्ता थप सतर्क बनेको अनुमान गरिएको छ ।
अर्थमन्त्रीको उक्त अभिव्यक्तिले बजारमा मनोवैज्ञानिक प्रभाव पारेको देखिन्छ । पछिल्लो समय बजार सुधार र सरकारी नीतिगत घोषणाले उत्साहित बनेका लगानीकर्तामध्ये केहीले जोखिम घटाउने रणनीति अपनाएको विश्लेषण गरिएको छ । यद्यपि सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पूँजी बजार सुधारलाई प्राथमिकतामा राखेको छ ।
सरकारले नेप्से, धितोपत्र नियमन प्रणाली र क्लियरिङ संरचनाको पुनर्संरचना गर्ने, संस्थागत लगानीकर्ता भित्र्याउने तथा बन्ड बजारलाई सक्रिय बनाउने योजना अघि सारेको छ । पेन्सन कोष, बीमा कम्पनी, म्युचुअल फन्ड तथा गैरआवासीय नेपालीलाई पूँजी बजारमा थप सक्रिय बनाउने सरकारी लक्ष्यले दीर्घकालीन रूपमा बजारलाई सकारात्मक आधार दिन सक्ने विश्लेषण गरिएको छ । तर नीतिगत घोषणाले मात्रै तत्काल बजारको मनोबल बलियो बनाउन भने नसकेको अवस्था देखिएको छ ।
प्राविधिक रूपमा हेर्दा बजार अझै पूर्ण रूपमा नकारात्मक संरचनामा प्रवेश गरिसकेको छैन । दैनिक चार्टमा मंगलबार बनेको लामो रातो क्याण्डललाई विश्लेषकहरूले “Bearish Rejection Candle” तथा “Profit Booking Candle” का रूपमा व्याख्या गरेका छन् । कारोबार अवधिभर बजार २८०२ विन्दुसम्म पुगे पनि त्यहाँ टिक्न नसक्दा अन्तिम समयमा बिक्री दबाब बढेको देखिन्छ ।
विशेषगरी २७८८–२८०० क्षेत्रलाई अहिले बजारको प्रमुख प्रतिरोध क्षेत्रका रूपमा हेरिएको छ । चार्टमा देखिएको घट्दो ट्रेन्डलाइन अझै बजारमाथि दबाबको रूपमा कायम रहेको देखिन्छ । सोमबार बनेको बुलिस रिकभरी क्याण्डलपछि बजारले मंगलबार ट्रेन्डलाइन तोड्ने प्रयास गरे पनि सफल हुन सकेन । यसले बजारमा अझै स्पष्ट ब्रेकआउट पुष्टि नभइसकेको संकेत गरेको विश्लेषकहरू बताउँछन् ।
यद्यपि बजारको ठूलो संरचना अझै पूर्ण रूपमा बिग्रिएको अवस्था भने छैन । बजार अहिले पनि Higher Low संरचनाभित्र रहेको देखिन्छ । चार्टअनुसार २६७७ विन्दु बजारका लागि महत्वपूर्ण सपोर्ट क्षेत्र बनेको छ । बजार यो स्तरभन्दा माथि टिकिरहेसम्म पुनः सुधारको सम्भावना जीवित रहने विश्लेषण गरिएको छ ।
त्यसभन्दा तल २६०८ र २५६८ क्षेत्र क्रमशः दोस्रो र तेस्रो समर्थन क्षेत्रका रूपमा देखिएका छन् । यदि आगामी कारोबार दिनमा बजार २६७७ तल झर्यो भने छोटो अवधिमा लगानीकर्ताको मनोविज्ञान थप कमजोर बन्न सक्ने जोखिम रहेको विश्लेषकहरूको भनाइ छ ।
चार्टमा देखिएका BOS (Break of Structure) र CHoCH (Change of Character) संकेतहरूले बजार अझै ट्रेन्ड परिवर्तनको संघर्षमै रहेको देखाउँछन् । मार्चपछि बनेको तीव्र गिरावटपछि बजारले तलबाट आधार बनाउने प्रयास गरिरहेको भए पनि माथिल्लो प्रतिरोध क्षेत्र पार गर्न अझै संघर्ष गरिरहेको अवस्था चार्टमा स्पष्ट देखिन्छ ।
विश्लेषकहरूका अनुसार अहिले बजार अत्यन्त संवेदनशील चरणमा पुगेको छ । यदि आगामी कारोबार दिनमा नेप्से पुनः २७८८ माथि क्लोज हुन सफल भयो भने बजारमा बुलिस गति फर्किन सक्छ । तर लगातार रातो क्याण्डल बन्ने क्रम जारी रह्यो भने बजारमा थप करेक्सन आउने सम्भावना पनि बलियो रहनेछ ।
कारोबारतर्फ मंगलबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किटमा कारोबार हुँदै १ हजार ३९५ रुपैयाँ पुगेको छ । विपरीत फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १२.४० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहँदा रिलायन्स स्पिनिङ मिल्स र रिडी पावर कम्पनी पनि उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।





