आर्थिक वर्ष २०८१/८२ को दश महिनामा नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।
गत वर्षको सोही अवधिमा रेमिट्यान्समा १६.९ प्रतिशतको वृद्धि भएको थियो। यस आर्थिक वर्षको वैशाख महिनामा मात्र १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो, जुन गत वर्षको वैशाख महिनामा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँको तुलना मा निकै उच्च रहेको छ।
अमेरिकी डलरमा रेमिट्यान्सको प्रवाहमा १०.५ प्रतिशतको वृद्धि भएको छ र यस वर्ष ९ अर्ब ९६ करोड डलर रेमिट्यान्स नेपाल भित्रिएको छ। यस वर्षको सोही अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढेको हो।
यो अवधिमा वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने नेपाली नागरिकहरूको संख्या ४ लाख ५ हजार ६१० रहेको छ, जबकि पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ रहेको थियो।





