बग्दाद। इराकले तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकसमक्ष आफ्नो तेल उत्पादन कोटा बढाउन औपचारिक आग्रह गरेको छ। दशकौँ लामो युद्ध, अन्तर्राष्ट्रिय प्रतिबन्ध र पछिल्ला क्षेत्रीय द्वन्द्वका कारण तेल उद्योगमा ठूलो क्षति पुगेको भन्दै इराकले उत्पादन सीमा पुनरावलोकन गर्नुपर्ने माग अघि सारेको हो।
इराकको तेल मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा सदस्य राष्ट्रहरूको दिगो उत्पादन क्षमताका आधारमा उत्पादन आधाररेखा पुनः निर्धारण गर्नुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले इराकको विशेष सुरक्षा अवस्था, आर्थिक आवश्यकता र तेल क्षेत्रमा परेको युद्धजन्य प्रभावलाई पनि ध्यानमा राख्न ओपेकलाई आग्रह गरेको छ।
तेल मन्त्रालयका प्रवक्ता सलीम अल–रिकाबीले इराक ओपेकबाट बाहिरिने तयारीमा रहेको भन्ने समाचारको खण्डन गरेका छन्। उनले इराक अझै पनि ओपेकप्रति प्रतिबद्ध रहेको बताए। तर, इराकको उत्पादन कोटा नबढेमा संगठनमा रहने वा नबस्ने विषयमा भविष्यमा गम्भीर निर्णय लिनुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए।
उनका अनुसार इराकले आफ्नो उत्पादन क्षमता र राष्ट्रिय आवश्यकताअनुसार तेल उत्पादन बढाउने नीति अघि बढाइरहेको छ।
तेलमै निर्भर अर्थतन्त्र
इराकको अर्थतन्त्र मुख्यतः कच्चा तेल निर्यातमा निर्भर छ। सरकारी आम्दानीको ठूलो हिस्सा तेल निर्यातबाट आउने भएकाले ओपेकले तोकेको उत्पादन सीमाले इराकको राजस्वमा प्रत्यक्ष असर पार्दै आएको छ।
मन्त्रालयले ओपेकले सदस्य राष्ट्रहरूको उत्पादन क्षमता पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाइसकेको जनाएको छ। इराकले सो प्रक्रियामा आफ्नो अवस्थालाई न्यायोचित ढंगले सम्बोधन गरिनुपर्ने माग गरेको छ।
युद्ध र क्षेत्रीय तनावको असर
पछिल्ला मध्यपूर्वी तनाव र हर्मुज जलडमरूमध्यमा देखिएको अवरोधका कारण तेल आपूर्तिमा असर परेको बताइएको छ। युद्धका क्रममा इराकका केही तेल क्षेत्रमाथि ड्रोन आक्रमणसमेत भएको विवरण सार्वजनिक भएको छ।
युद्धअघि इराकले दैनिक करिब ४० लाख ब्यारेल तेल उत्पादन गर्दै आएको थियो भने औसत ३५ लाख ब्यारेल तेल दैनिक निर्यात गर्दै आएको थियो। इराकी अधिकारीहरूले क्षेत्रीय तनाव कम हुँदै गएपछि आगामी दुई महिनाभित्र उत्पादनलाई युद्धअघिको स्तरमा पुर्याउने अपेक्षा गरेका छन्।
ओपेक छोड्ने सम्भावनाबारे मिश्रित प्रतिक्रिया
एक पूर्व इराकी तेल अधिकारीले ओपेकबाट बाहिरिनु इराकको हितमा नहुने टिप्पणी गरेका छन्। उनका अनुसार तेल व्यापारमा अत्यधिक निर्भर देशका लागि ओपेकको सदस्यता रणनीतिक रूपमा महत्त्वपूर्ण छ।
ऊर्जा परामर्शदाता संस्था रिस्टाड इनर्जीका विश्लेषक जर्ज लियोनले भने इराकले उत्पादन कोटा पुनरावलोकनका लागि दबाब सिर्जना गर्न यस्तो अभिव्यक्ति दिएको हुन सक्ने बताएका छन्। उनका अनुसार हाल भइरहेको उत्पादन क्षमता पुनरावलोकन नै सन् २०२७ को नयाँ उत्पादन कोटा निर्धारणको आधार बन्ने भएकाले इराकले आफ्नो पक्ष बलियो बनाउन खोजेको हुन सक्छ।
इराकले भने उत्पादन कोटासम्बन्धी कुनै पनि विवाद ओपेकको विद्यमान संरचनाभित्रै समाधान गर्न चाहेको स्पष्ट पारेको छ।



