नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'रणनीतिक विश्लेषण प्रतिवेदन, २०२६: हुण्डी' शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनले नेपालमा हुने गैरकानुनी हुण्डी कारोबारमा २५ देखि ४४ वर्ष उमेर समूहका युवा, खुद्रा व्यापारी र विप्रेषण सब-एजेण्टहरू बढी संलग्न रहेको खुलासा गरेको छ।
यो प्रतिवेदन एफआईयू-नेपालको 'गोएएमएल' (goAML) प्रणालीमा ०२ जनवरी २०२५ देखि जुलाई २०२६ सम्म प्राप्त हुण्डीसम्बन्धी शंकास्पद कारोबार तथा गतिविधि विवरणहरूको विश्लेषण गरी तयार पारिएको हो। कुनै निश्चित घटना, संस्था वा व्यक्तिमा केन्द्रित हुनुभन्दा पनि यस विश्लेषणले हुण्डीमा प्रयोग हुने प्रवृत्ति, स्वरूप र विधिहरू पहिचान गरेको छ।
प्रतिवेदनअनुसार हुण्डी सञ्चालकहरूले प्रायः 'मुल एकाउन्ट' (अरू व्यक्तिको बैंक खाता प्रयोग गर्ने), नगद कारोबारको सीमा छल्न रकमलाई टुक्र्याएर जम्मा गर्ने र व्यावसायिक आवरणमा कारोबार सञ्चालन गर्ने गरेका छन्। साथै, क्रिप्टोकरेन्सीको प्रयोग, नगद नै ओसारपसार गर्ने, विप्रेषण सब-एजेण्टहरूको प्रयोग तथा आधुनिक डिजिटल प्रविधिहरूको उपयोगसमेत बढ्दै गएको छ।
हुण्डीको भुक्तानी फर्स्यौट ढाँचामा पनि परिवर्तन आएको छ। विगतमा हुण्डीको फर्स्यौट दुईपक्षीय मिलान तथा वस्तु वा मूल्यमार्फत हुने गरेकोमा हाल औपचारिक बैंकिङ तथा डिजिटल माध्यमबाट फर्स्यौट हुने क्रम बढ्दो छ।
अन्तर्राष्ट्रिय अध्ययनहरूलाई उद्धृत गर्दै प्रतिवेदनले मानव तथा लागुऔषध तस्करी, भ्रष्टाचार र कर छली जस्ता गम्भीर अपराधबाट आर्जित कालो धन शुद्धीकरण गर्न हुण्डी प्रयोग हुने गरेको र यसले आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको गम्भीर जोखिम निम्त्याउने उल्लेख गरेको छ। यस प्रकारका कारोबार नियन्त्रण गर्न प्रतिवेदनले सूचक संस्था, नियामक तथा सुपरीवेक्षक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र नीति निर्माताहरूलाई सुझावहरू दिएको छ।




